भारतीय सुरक्षाकर्मीको उपस्थितिमा जयसिंह धामी बेपत्ता : सरकारी छानबिन समिति
काठमाडौँ : भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा तुइनको तारसँगै दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ।
साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ का धामी बेपत्ता घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको प्रतिवेदन बुझाएको छ।
गृहमन्त्री बालकृष्ण खाँडलाई प्रतिवेदन बुझाएको समितिले एसएसबीको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न भनेको छ।
बेपत्ता धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि समितिले सरकारलाई सिफारिस गरेको छ।
यस्तै धामीका परिवारको पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सिफारिस गरेको छ।
सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको तारसँगै महाकाली नदीमा बगी धामी बेपत्ता भएको घटनाको सम्बन्धमा साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।
समितिले घटना भएको ठ्याक्कै एक महिना पुगेपछि आज मंगलबार गृहमन्त्री खाँडलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।
भदौ १५, २०७८ मंगलबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।