बागमतीमा मुख्यमन्त्री शाक्यको पद धरापमा
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौडामा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेर सनाखत गराएका हुन्।
१२ सांसदले एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ। बागमती प्रदेशमा एमालेका ५५ जना सांसद थिए। अब एमालेमा ४३ जना मात्र सांसद बाँकी रहेका छन्।
एकल बहुमत रहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी छन्। १२ सांसदले समाजवादी रोजेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समर्थनमै मुख्यमन्त्री बनेको दाबी गरे पनि एकीकृत समाजवादीकै राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको दाबेदार भएको प्रतिक्रिया दिएका छन्।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ। बागमती प्रदेशमा आज मंगलबार नै १२ जना सांसदले एमाले त्यागेर समाजवादी पार्टी रोजेको निर्वाचन कार्यालय हेटौडाले जनाएको छ।
भदौ १५, २०७८ मंगलबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।