तत्कालै मन्त्रीपरिषद्ले पूर्णता नपाउने

तत्कालै मन्त्रीपरिषद्ले पूर्णता नपाउने
फाइल तस्बिर।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावदी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडमा सहमति नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। 

‘मन्त्रालय बाँडफाँड टुङ्गो लागेको छैन,’खड्काले उकेरासँग भने,‘शीर्ष नेताहरुबीच संसदमा पेस भएका अध्यादेश लगायतका विषयमा छलफल भएको छ।’ सरकार गठन भएको ४५ दिन नाघिसक्दा पनि प्रधानमन्त्री देउवा चार मन्त्री र एक राज्यमन्त्रीमा सीमित भएका छन्। 

मन्त्रालय बाँडफाँडमा दलहरुबीच कुरा नमिलेपछि तत्कालै मन्त्रीपरिषद्ले पूर्णता नपाउने भएको छ। 

यस्तै शीर्ष नेताहरुबीच संसद् अधिवेशन बोलाउने विषयमा पनि छलफल भएको उनले बताए। ‘संसदमा पेस भएका अध्यादेश र संसद् अधिवेशन बोलाउने विषयमा छलफल भएको छ,’उनले भने,‘दुई तीनमा अधिवेशन बोलाउने विषय टुङ्गोमा पुग्ने गरी कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयारी गरिरहेको छ।’

संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन वा निष्क्रिय बनाउनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको आदेशपछि साउन ३ गते बसेको पहिलो बैठकमा आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पेस भएको थियो। प्रतिनिधि सभाको पहिलो बैठक बसेको मितिले असोज ३ गते ६० दिन पुग्छ। 

अर्थ मन्त्रालयले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेटको तयारी गरिरहेको जनाएको छ। तर, संसद् अधिवेशन बोलाउने विषयमा नै दलहरुबीच सहमति जुटेको छैन।

भदौ १५, २०७८ मंगलबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।