माधव नेपालले छलफल नै नगरी दल दर्ता गर्नु इतिहासकै ठुलो गल्ती युवराज ज्ञवाली
मङ्गलवार नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने ‘माधव कमरेडले स्थायी कमिटीको बैठक पनि नराखी, कुनै औपचारिक छलफल नै नगरी अचानक नयाँ पार्टी दर्ता गर्नुभयो’, उनले भने, ‘नयाँ पार्टी दर्ता गर्ने कुरा बाहिर आएपछि मैले बिहान फोन गरेर उहाँलाई भनेको थिएँ, स्थायी कमिटीको बैठक बसाल्नुस्, त्यहाँ छलफल गरेपछि मात्रै डिसिजन लिनुहोला भनेर। नयाँ दल दर्ता गरेर इतिहासकै ठुलो गल्ती गर्नुभयो।’
एउटै नीति, एउटै विचारधारा भएको पार्टी विभाजन गर्दा पछि गएर नेता नेपाललाई नै समस्या हुने उनले ठोकुवा गरे।
‘एउटै नीति र विचारधारा भएको पार्टी विभाजन गर्नुभयो, यसले उहाँलाई नै घाटा हुन्छ’, ज्ञवालीले भने, ‘बैठक नबसी उहाँ दल दर्ता गराउन गएपछि उहाँले छोड्नु भयो कि हामीले छोड्यौँ? तथ्यले के भन्छ?’
माधव नेपाल सहितको एमाले एकता गर्ने प्रयास गरे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको ज्ञवालीको टिप्पणी छ।
उपाध्यक्ष ज्ञवालीले एमाले फुटाउनुमा सभामुख अग्निप्रसाद सापकोटाले महत्त्वपूर्ण भूमिका खेलेको आरोप लगाउँदै उनले त्यसको सधैँ प्रतिरोध गर्ने बताए।
‘सभामुख पदमा जो व्यक्ति बसे पनि उहाँले निष्पक्ष काम गर्नुपर्छ। सभामुख पार्टी होइन संस्था हो, पार्टीले हाम्रा कार्यकर्ताहरूलाई कारबाही गर्न संस्थागत निर्णय गरेर निवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नुले पुष्टि गर्छ कि सभामुखले एमाले फुटाउन भूमिका खेल्नु भएको छ भन्ने कुरा तथ्यबाट देखिन्छ’, उनले भने, ‘पदमा पुगेका व्यक्तिले संविधान र कानुनबमोजिम काम गर्नुपर्छ ।’
भदौ १५, २०७८ मंगलबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।