मन्त्री परिषद् बिस्तारको छलफल गर्न सत्ता गठबन्धनको शीर्ष तहको बैठक बस्दै
मन्त्री परिषद् गठनमा ढिलाइले विभिन्न मन्त्रालयका काममा बाधा पुगेको भन्दै सरकारको आलोचना भइरहेका बेला नेताहरू अन्तिम कसरतमा जुटेका हुन्। मन्त्री परिषद् बिस्तारका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार डाकिएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘मन्त्री परिषद् बिस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको छ।’, भानुले उकेरासँग भने, ‘छिटो सहमति गरेर सरकार बिस्तार गर्ने कुरा छ।’ सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको टुङ्गो पनि आजै लाग्ने माओवादीका एक नेताले बताए।
नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाल समूहले वैधानिकता नपाउँदा मन्त्री परिषद् बिस्तारमा ढिला भएको थियो।
भदौ १५, २०७८ मंगलबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।