कांग्रेसमा सदस्यता विवाद : सबै वडामा एकै दिन अधिवेशन नहुने

कांग्रेसमा सदस्यता विवाद : सबै वडामा एकै दिन अधिवेशन नहुने

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले भोलि मंगलबारसम्म ६० जिल्लाको सदस्यता विवाद समाधान गरेर नामावली केन्द्रीय निर्वाचन समितिलाई पठाउने बताएको छ। ‘भोलिसम्म ६० जिल्लाका क्रियाशील सदस्यताको नामावली निर्वाचन समितिलाई बुझाउने गरी छलफल भएको छ,’छानबिन समितिका रमेश लेखकले उकेरासँग भने,‘७७ जिल्लाको नामावली टुङ्गो लगाउन केही समय लाग्न सक्छ।’

सदस्यता छानबिन समितिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र लेखक छन्। कांग्रेसले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ।

यस्तै ५३ जिल्लामा निर्वाचन अधिकृतहरू खटाइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

नामावली टुङ्गो लागेर निर्वाचन अधिकृत खटिसकेका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन हुने लेखकले बताए। नामावली टुङ्गो लाग्न बाँकी वडामा एक दुई दिनपछि वडा अधिवेशन हुने उनले बताए। 

‘सकभर सबै वडामा एकै दिन वडा अधिवेशन गर्न बिहानदेखि बेलुकासम्म नै सदस्यता नामावली टुङ्गो लगाउन लागिरहेका छौँ,’लेखकले भने,‘काम गर्दा गर्दै भ्याइएन भने केही वडामा एक दुई दिन ढिलो अधिवेशन हुनसक्छ।’

भदौ १४, २०७८ सोमबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।