बजेट संशोधन गर्ने सत्ता गठबन्धनका नेताहरूको सहमति
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले ओली सरकारले अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेट संशोधन गर्ने निर्णय गरेको छ।
सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको बैठकमा सत्ता गठबन्धनका नेताले आवश्यक प्रक्रिया पूरा गरेर बजेट सच्याउन सुझाव दिएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई सहमति जनाएका छन्।
बैठकमा मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा पनि छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले जानकारी दिए । पौडेलका अनुसार बुधवार सम्ममा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको थियो।
सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डा हुने अनुमान गरिए पनि त्यो सम्बन्धमा गठबन्धनका शीर्ष नेताले आपसी सहमतिमा टुङ्ग्याउने समझदारी भएको बैठकका एक सहभागीले बताए।
सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारमा कांग्रेसका २ मन्त्री र १ राज्यमन्त्री तथा माओवादीका २ मन्त्री मात्र सहभागी छन्। गठबन्धनका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुँदैछ।
भदौ १४, २०७८ सोमबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।