दार्चुलामा बाढीले पक्की पुल र घरहरू बगायो
दार्चुला : अविरल वर्षाका कारण निजाङ्ग खोलामा गए राती आएको बाढीले पहिरो जाँदा दुहुँ गाउँपालिकाका १ को मृत्यु भएको छ भने अर्का एक बेपत्ता छन्। बाढिले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगाएको छ।
बाढिले माथिबाट आएको पहिरोले घर पुरिंदा दुहुँ गाउँपालिका–१ का नरसिंह महराको मृत्यु भएको हो। पहिरोले पुरिएकी उनकी श्रीमती कौशीदेवी महरा बेपत्ता छिन्। बाढीले पक्की पुलसँगै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जर पोस्ट र खोला किनारका पसलहरू बगाएको हो। ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमामा बग्ने निजाङ्ग खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले बताए।
खोलाले स्थानीय दीपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको छ। बाढी बढ्न थालेपछि त्यस क्षेत्रका बासिन्दा राती नै अन्यत्र सरेका थिए। क्षतिको पूर्ण विवरण आइसकेको छैन।
लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ। निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको हो। बाढी ग्रस्त स्थानमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
भदौ १४, २०७८ सोमबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।