नेपालमा कोरोना खोपको प्रभावकारिता ९० प्रतिशत

नेपालमा कोरोना खोपको प्रभावकारिता ९० प्रतिशत

काठमाडौँ : नेपालमा ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टीबडी देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको अवस्थालाई देशभरिका ६ महिनाभन्दा बढी उमेरका व्यक्तिलाई समेटी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गर्दा सो नतिजा देखिएको जनाएको छ।

असार २१ देखि साउन ३० गतेसम्म एन्टीबडी परीक्षणका लागि नमुना सङ्कलन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सातै प्रदेश, हिमाल, पहाड, तराइ, गाउँ, सहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा समान रूपमा नै एन्टिबडी देखिएको जनाएको छ।

मन्त्रालयका अनुसार एक मात्रा खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको छ। त्यसैले नेपालमा लगाइरहेका खोपहरू प्रभावकारी भएको मन्त्रालयले बताएको छ।

भाइरसले रूप परिवर्तन गरिरहने जोखिम कायम नै रहेकाले सङ्क्रमणको रोकथाम, नियन्त्रण, गर्नु नै एक मात्र प्रभावकारी उपाय भएको समेत जनाएको छ।

भदौ १३, २०७८ आइतबार २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।