एसपीको फेसबुक मेसेन्जरबाट पैसा मागेछि...
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटका नाममा रहेको फेसबुक आइडीबाट विभिन्न ब्यक्तिसँग पैसा मागिएको खुलेको छ।
एसपी रानाभाटको फेसबुकमार्फत उनी निकटसँग पैसा मागिएको हो। उनले कसैले आफ्नो नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसमार्फत आफ्ना साथीहरुसँग रकम माग गरिरहेको दावी गरेका छन्।
एसपी रानाभाटले त्यो नक्कली फेसबुक आइडी भएकोले त्यसबारे सचेत रहँदै ती ठगहरुलाई रकम नदिन आग्रह गरे।
भारतको महाराष्ट्र राज्यस्थित पुनामा बसोबास गर्ने उल्लिखित प्रहरी उपरीक्षक रानाभाटको नक्कली आइडी भारतमै बनाइएको आशंका गरिएको छ।
'बिरामी भएर थला परेको निहुँमा फेसबुक म्यासेन्जरमार्फत साथीहरुसँग रकम माग गरिएको थाहा पाएँ,' एसपी रानाभाटले भने, 'म्यासेन्जरमा रकम माग गर्दा अंग्रेजी भाषा प्रयोग गरिएको छ। यसले गर्दा पनि नक्कली आइडी बनाउनेहरु नेपाल बाहिरका ठग हुन सक्छन्।'
कुनै पनि व्यक्तिको सक्कली अर्थात् आधिकारिक फेसबुक आइडीबाट तस्बिर तथा जानकारी चोरेर नक्कली आइडी बनाई स्वास्थ्योपचार वा अन्य कुनै बहानामा फेसबुक साथीहरुसँग रकम माग गर्ने गिरोह सक्रिय छन्।
'ती गिरोहका सदस्यहरु सुरुमा फेसबुक मित्रहरुसँग सामान्य कुराकानी थाल्छन्। विस्तारै विश्वासमा लिई रकम माग गर्छन्,' एसपी रानाभाटले भने।
एसपी रानाभाटले आफ्नो नक्कली आइडीबाट रकम मागिँदा गुगल पेमार्फत पैसा दिन भनिएकाले पनि उनी देशबाहिरकै हुनसक्ने अड्कल गरे।
आफ्नो नामको नक्कली फेसबुक आइडी बन्द गराउने प्रक्रिया सुरु गरिसकिएको एसपी रानाभाटले बताए।
भदौ १३, २०७८ आइतबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।