एमालेले कारबाही गरेका १४ सांसदको पद जोगिने
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद जोगिने भएको छ।
एमालेले कारबाही गरी उनीहरूलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो। ढिला गरी निर्णय दिएको संसद् सचिवालयले उनीहरू विद्यमान राजनीतिक दल सम्बन्धी ऐन अनुसार अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको जनाएको छ।
तत्कालीन प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने क्रममा ह्विप उल्लङ्घन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसद्लाई भदौ १ गते नै पत्राचार गरेको थियो। संसद् सचिवालयले एमालेले दिएको पत्र अनुसार कारबाहीको सूचना निकाल्न आलटाल गर्दै आएको थियो।
एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, भवानी खापुङ, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन,कल्याणी खड्का, विरोध खतिवडा, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन,निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, र मेटमणि चौधरीलाई ह्विप उल्लङ्घनको आरोपमा कारबाही गरेको थियो।
यो बीचमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भई ती सांसदहरूले नयाँ दलमा लाग्न निर्वाचन आयोगमा सनाखत गरिसकेकाले संसद् सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।
भदौ १३, २०७८ आइतबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।