एमाले र जसपा छाडेर नयाँ पार्टीमा लाग्ने जनप्रतिनिधि लाई आयोगले दियो भदौ २२ को समय सीमा
काठमाडौ : नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक जनता पार्टीमा लाग्ने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते भित्र सनाखत गरी सक्नु पर्ने समय सीमा निर्धारण गरेको छ।
नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी छाडेर लोकतान्त्रिक जनता पार्टीमा लाग्न चाहने जनप्रतिनिधिलाई भदौ २२ गते भित्र निर्णय गरेर आयोगमा सनाखत गरी सक्न आयोगले समय तोकेको हो। जनप्रतिनिधि हुरेल आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ।
निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार बसेको बैठकले नयाँ दल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्म सनाखत गरिसक्न समय निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सांसदले सम्बन्धित प्रदेशको निर्वाचन आयोगको कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने आयोगको निर्णयमा उल्लेख छ।
यसअघि सनाखतमा छुटेका सङ्घीय संसद्का सांसदहरूले भने अब दल बदल गर्न पाउने छैनन्। राजनीतिक दल सम्बन्धी अध्यादेशबाट संशोधन भएको ऐन अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि हरुले भने नयाँ दल दर्ता प्रक्रिया सुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउँछन्।
भदौ १३, २०७८ आइतबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।