विदेसिएको एक्लो छोरो खुट्टा गुमाएर फर्किएपछि ...
गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिका-२ तान्द्राङका केशव लामिछाने मनमा सानैदेखि एउटै सपना थियो, -‘बाचुन्जेल बा-आमालाई सुखसँग पाल्ने’। पाँच छोरी जन्माएपछि केशवलाई बा-आमाले बुढेसकालमै जन्माए। २०५५ मा केशव जन्मिँदा उनकी आमा (छलिमायाँ) ४५ वर्ष र बा (अग्नीधर) ५५ वर्ष पुगिसकेका थिए।
सामान्य परिवारमा जन्मिए पनि रहरमा पाएको कान्छो सन्तान (छोरा) भएरै होला केशवलाई बा-आमाले सकुन्जेल कहिल्यै दुख कटाएनन्। क्षमताले भ्याउँदासम्म केशवको हरेक रहर पूरा गर्दिन्थे। त्यसैले होला केशव सोच्थे, ‘म ठुलो भएपछि बा-आमालाई एक रति दुख गर्न लगाउन्न।’
‘घरको एक्लो छोरा गरिब परिवारमै जन्मे,पनि सुखसँगै हुर्के। बा-आमाले सकेको सुख दिनुभयो। त्यसैले पनि होला सानैदेखि ठुलो भएपछि जति दुख गर्नुपर्छ म गर्छु। तर, बा-आमालाई दुःख गर्न दिन्नँ। उहाँहरूको सबै सपना, रहरहरू पूरा गर्छु भन्ने सोच आउँथ्यो’, केशव भक्कानिन्छन्।
केशवले कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढे। जसोतसो कक्षा १२ सम्म पढ्न पाए राम्रै काम पाइन्छ भन्ने सोचे अनि गोरखा सदरमुकाममा रहेका जेठो भिनाजुको घरमा बसेर कक्षा ११ मा पढ्न थाले।
उनी सदरमुकाम पढ्न थालेपछि खर्च जुटाउनै सकस हुन थाल्यो। घरको आयस्रोत अत्यन्तै न्यून भएपछि लामिछाने २०७५ सालको असारमा रोजगारी खोज्दै भारतको पन्जाबमा पुगे।
पन्जाब पुगेपछि उनी ग्रिल उद्योगमा काम गर्न थाले। मासिक २२ हजार तलब बुझ्थे। त्यहाँ पुगेको दुई महिनासम्म उनले घरमा नियमित पैसा पठाए।
छोराले कमाई गरेर महिनैपिच्छे पैसा पठाउन थालेपछि बुढा बा-आमा खुसीले दङ्ग थिए। उनीहरूलाई लाग्थ्यो, ‘अब हाम्रो दुखको दिन सकियो, सखका दिन आयो’।
तर, यो परिवारमा भर्खरै झुल्किएको खुसीका किरण लामो समय टिक्न सकेन। पन्जाब पुगेको तीन महिना नबित्दै केशव दुर्घटनामा परे।
‘पैसा कमाएर बुढेसकाल लागेका बाबुआमाको सहारा बन्छु भनेर पढाई छाडेर भारत पुगेँ, अहिले आफैँलाई सहारा आवश्यक पर्ने भएको छ’, केशव दुखेसो सुनाउँछन्।
बैसाखीको सहारा लिनुपर्ने भएपछि . . .
बुढेसकाल बा-आमाको सहारा बन्ने सोचेर पन्जाब पुगेका उनले दुर्घटनामा परेपछि एउटा खुट्टा गुमाए। अहिले उनैलाई बैसाखीको सहारा नभई हुन्न ।
उनको बुबाको पनि एउटा खुट्टा नशाको रोगका कारण चल्दैन, आमा पनि दमको रोगी। घरमा उनी, उनका वृद्ध बा-आमा मात्रै छन्।
बा-आमाले कमाउन नसक्ने भएपछि कक्षा ११ मा पढ्दापढ्दै चटक्क छाडेर कमाउन गएका उनी नै दुर्घटनामा परेपछि उनको सम्पूर्ण परिवार नै सहाराविहीन बनेको छ।
लामिछानेको बुबाले आँखाभरि आँसु बनाउँदै दुःख सुनाउँछन्, ‘कान्छो (केशव) भारत जानुभन्दा अघिल्लो सालसम्म म आफै त्यही भारतमा नै मजदुरी गरेँ, त्यसैले परिवार पालेँ। छोरोले बा- अब म ठुलो भएँ, तपाईँहरू कति दुख गर्नुहुन्छ ? अब म कमाउँछु तपाई घरमा बसाबसी खानु भन्यो। अनि जान छाडेँ।’
उनी थप्छन्, ‘हामीलाई सुख दिन भनेर भारत गएको छोरो डुँडो भएर फर्कियो। खै के भनौँ।’
परिवारको सहारा नै बृद्धभत्ता
रोजगारीका लागि भारत पुगेका उनलाई कम्पनीले पनि कुनै सहयोग गरेन। दुर्घटनामा परेपछि दिदिहरु र आफन्तले ऋण खोजेर पठाएको पैसाले उपचार गरी केशव घर फर्किए। उनी नेपाल आई पुग्दासम्म धन्नै ६ लाख रुपैयाँ खर्च भयो। त्यति बेलाको ऋण पनि अझै बाँकी छ।
‘घरमा तीन जना छौँ। तीनै जना रोगी भयौँ। कोही काम गर्न सक्दैनौँ। कमाई हुने बाटै छैन। खै के गर्ने हो ?’ लामिछानेको बुबा समस्या देखाउँछन् ।
अहिले यो परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय छ। घरको आयस्रोत भनेकै अग्नीधरको बृद्धभत्ता हो। त्यो बाहेक कहिलेकाहीँ छोरी, ज्वाइँहरूले सक्दो सहयोग गर्छन्।
केशवले अपाङ्गता परिचयपत्र बनाउन वडामा निवेदन दिएको पनि वर्ष दिन बितिसक्यो। तर, अहिलेसम्म बनेको छैन। अपाङ्गता परिचयपत्र बनेमा त्यसबाट सामाजिक सुरक्षा भत्ता आए घर खर्चमा अलि सहज हुने उनको आस छ।
‘हाम्रो लागि भगवान् कहीँ त होलान् नि ?’
भनिन्छ, जसको सहारा कोही हुँदैन उसको लागि भगवान् हुन्छ। केशवसँग पनि भगवानसँगको आस्था अझै पनि छ ।
‘भगवानले एक पटक सायदै झुक्किएर दुःख दिनुभयो। ढिलो चाँडो कहीँ कतैबाट भगवानले हेर्नुहोला नि, हाम्रो लागि कहीँ त भगवान् होलान् नि ?’, उनी भगवान् प्रतिको आस्था देखाउँछन्।
बा-आमालाई खुसी दिने पहिलो प्रयासमा नै खुट्टा गुमाए पनि उनले हरेस भने खाई सकेका छैनन्। अब उनीसँग एउटै आस छ, ‘कहीँ कतैबाट सिपमूलक तालिम सिकेर, सहयोग जुटाएर कुनै व्यवसाय गर्न सकूँ। अनि परिवारमा छाएको दुख र पिडाका कालो बादललाई फेरि हटाउन सकूँ।’
-न्युजकारखाना
भदौ १३, २०७८ आइतबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।