पहिरोले सिङ्गो गाउँ जोखिममा
बुटवल : बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिङ्गो बस्ती नै जोखिममा परेको छ।
चुरे पहाडको काखमा रहेको बस्तीमा आज बिहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगेको हो।
पहिरोले तीन वटा घर पूर्ण रूपमा पुरेको छ। पहिरोका कारण अन्य घरहरूमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन्। गत शुक्रवार बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि स्थानीयले सतर्कता अपनाएका थिए।
सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताए। त्यहाँका बासिन्दा पहिरोले क्षति पुर्याएका घरबाट सामान सार्ने काम गरिरहेका छन्। पहिरो जाने क्रम नरोकिएकाले स्थानीय घर छाडेर अन्यत्र जान थालेका छन्। प्रहरीका अनुसार पहिरोले गोल पार्कबाट लक्ष्मी नगर जोड्ने सडक बगाएको छ। केही बिजुलीका पोल पनि ढालेकाले विद्युत् अवरुद्ध भएको छ।
भदौ १३, २०७८ आइतबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।