माधव नेपाललाई मन्त्री छान्न सकस

माधव नेपाललाई मन्त्री छान्न सकस

काठमाडौ : अबको मन्त्री परिषद् बिस्तारमा सरकारमा सहभागी हुने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सबै सांसदले मन्त्रीको आकांक्षा देखाएपछि सरकारमा पठाउने सांसदको टुङ्गो लगाउन माधव नेपाल सङ्कटमा परेका छन्।

पार्टी विभाजनका बेला आँट र साथ दिएका सबै सांसदले मन्त्री बन्ने इच्छा देखाएपछि सरकारमा सहभागी गराउने सांसदको निर्णय गर्न नेपाललाई समस्या परेको हो।  गठबन्धनमा सहभागी दलहरूबिचको भागबन्डाबाट प्राप्त मन्त्रालय सङ्ख्या थोरै हुने भएकाले समस्या पार्टी भित्र कसलाई सरकारमा पठाउने भन्ने निर्णय लिन अप्ठ्यारो भएको नेपाल निकट स्रोतले बतायो। आकांक्षी धेरै र मन्त्रालय थोरै हुँदा कसरी मिलाएर लाने भन्ने गृहकार्यमा नेता नेपाल लागेका छन्।

 

पार्टी विभाजन हुने बेला एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर सरकार र पार्टीमा कुनै जिम्मेवारी नपाएका नेता–कार्यकर्ता तथा सांसद अहिले एकीकृत समाजवादी पार्टीमा छन्। ती नेता तथा सांसदलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने नेता नेपाललाई बाध्यता छ।

धेरै जनाले रहर गरे पनि सङ्ख्या कम आउने भएकाले आपसी समझदारीमा सरकारमा सहभागी हुने सांसदको टुङ्गो लगाउने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बताए। ‘हाम्रो भागमा आउने मन्त्रालयको सङ्ख्याका आधारमा सहमतिमै हामी नाम टुङ्गो लगाउँछौँ’, चौधरीले भने, ‘सरकारमा स्थान नपाउनेले पार्टीमा या अन्य ठाउँमा स्थान पाउनु हुन्छ।’

एकीकृत समाजवादीको भागमा बढीमा ६ देखि ७ सम्म मन्त्रालय पर्ने भएपछि पार्टी विभाजनका बेला आफूलाई साथ दिने कस– कसलाई मन्त्री बनाउने भन्ने दबाब नेता नेपालमा पर्नेछ। 

आलोपालो प्रणालीमा पार्टीका सबै सांसदलाई मन्त्री बनाउने नेपालको सोच रहेको नेपाल निकट एक नेताले बताए। ती नेताका अनुसार पहिलो चरण मन्त्री बनाएकालाई बीचमा फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने रणनीतिमा नेपाल छन्।

 

पर्ख र हेरको रणनीतिमा रहेका बामदेव गौतम आफ्नो पाटीमा आए उनको नेतृत्वमा सरकारमा सहभागी गराउने योजनामा छन्। उनी नआए अन्य नेताले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्नेछन्।

नेपालले नेता मुकुन्द न्यौपानेलाई तत्काल सरकारमा पठाइहाल्ने सम्भावना देखिन्छ। कल्याणीकुमारी खड्का संसदीय समितिमा रहेका कारण उनलाई त्यही नै राख्ने सोचमा नेपाल देखिन्छन्। सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, रामकुमारी झाँक्रीले पनि सरकारमा जान चाहेका छन्। सरकारमा जान चाहनेमा निरादेवी जैरु र प्रेमबहादुर आले पनि छन्। मेटमणि चौधरीले पनि सरकारमा सहभागी हुने मन गरेका छन्। त्यस्तै सरला यादवले उपसभामुखमा दाबी गरिरहेकी छन्। 

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकार सामेल हुने आकांक्षीमा पर्छन्। नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्। थापाले पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। 

प्राप्त हुने मन्त्रालयहरूमा ६ जना, राष्ट्रिय सभाको प्रमुख सचेतक तथा सचेतकामा दुई जना, प्रतिनिधिसभाको प्रमुख सचेतक तथा सचेतकमा दुई जना तथा विकास समितिका सभापतिमा दुई जना गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारे एकीकृत समाजवादी पार्टीका नेताहरू अलमलमा छन्। धनबहादुर बुढा, प्रेम आले र किसान श्रेष्ठ पार्टी नफुट्दै सरकारमा सहभागी हुनुपर्छ भनिरहेका हुनाले उनीहरूलाई पनि समेट्नुपर्ने बाध्यता नेता नेपालमा छ।

सरकारमा जाने मन्त्रीको नाम पार्टी कमान्डले चयन गर्ने मुकुन्द न्यौपानेले बताए। उनका अनुसार सरकार विस्तारको तयारी भएकाले पार्टीले सहभागी हुने निर्णय गरिसकेको छ।  मन्त्रालय बाँडफाँट टुङ्गिएपछि सरकारमा जाने मन्त्रीहरूको नाम तय हुने न्यौपानेले जानकारी दिए।

 

 

भदौ १३, २०७८ आइतबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।