दुई वर्षसम्म नवीकरण नगर्ने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको निर्णय
महासंघको मकवानपुरको दामनमा बसेको केन्द्रीय समितिको बैठकले निरन्तर दुई वर्षसम्म सदस्यता नवीकरण नगरेका सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय पनि गरेको छ।
आवश्यक परेमा विधान सभा आयोजना गरी सदस्यता शुद्धीकरण तथा साङ्गठनिक संरचनामा आवश्यक फेरबदल गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै महासंघको केन्द्रीय साधारण सभाबाट स्वीकृत सदस्यले मात्रै महाधिवेशनमा मताधिकार दिने गरी विधान संशोधनको प्रस्ताव आगामी साधारण सभामा पेस गर्ने निर्णय गरेको पत्रकार महासंघले जनाएको छ।
सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेका मिडिया काउन्सिल सम्बन्धी विधेयक, सूचना प्रविधि सम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयकहरूलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी आवश्यक संशोधन गर्न महासंघले आह्वान गरेको छ। त्यसका लागि संसदीय समितिलगायत सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको महासंघले जनाएको छ।
प्रदेश र स्थानीय तहले मिडिया प्रवर्द्धन गर्ने कानुन ल्याउनु पर्नेमा मिडिया नियमन गर्ने नाममा प्रेस स्वतन्त्रताका मूलभूत मान्यता विरुद्ध हुने खालका कानुन निर्माण प्रक्रिया अघि बढाएको पाइएकाले त्यस्ता कानुनलाई प्रेसमैत्री बनाउन बैठकले सम्बन्धित प्रदेश तथा स्थानीय तहसँग माग गरेको महासंघले जनाएको छ।
भदौ १२, २०७८ शनिबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।