कांग्रेसको क्रियाशील सदस्यता लगायत समस्या समाधानका लागि पौडेलले देउवा भेट्ने
नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटी क्रियाशील सदस्यता लगायतका समस्या समाधानको पहल गर्ने निर्णय गरेका छन्।
आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको संस्थापन इतर समूहका शीर्ष नेताको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई भेटी व्यवहारिक समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको हो। पौडेलले आजै देउवालाई भेट्ने समय लिएको बैठकमा सहभागी एक नेताले बताए।
‘क्रियाशील सदस्यतामा देखिएका समस्यालाई व्यवहारिक रूपमा समाधान गरेर जानुपर्छ भन्ने निर्णय भयो’, ती नेताले भने, ‘देखिएका समस्या समाधान गरेर महाधिवेशन सुनिश्चितताका लागि सभापतिसँग भेट्न लागिएको हो।’
क्रियाशील सदस्यता नामावली सार्वजनिक लगायतका माग राखेर अनशन बसेका जिल्ला सभापतिहरूको मागका विषयमा पनि सभापतिको ध्यानाकर्षण गराउने ती नेताले बताए। काँग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई उपलब्ध गराएर वेब साइडमा सार्वजनिक गरे पनि बाँकी जिल्लाको सार्वजनिक भएको छैन।
भदौ ११, २०७८ शुक्रबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।