बाढी पस्दा परासी बजार डुबानमा
बुटवल : गए रातीदेखि परेको अविरल वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ।
परासी हुँदै बगेको झरही नदीमा आएको बाढी र रावण खन्डा खोलाको बाढी मिसिएर बजारमा पस्दा डुबानमा परेको हो। बाढीमा एक १४ वर्षीय किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ।
बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको स्थानीयले बताए। बजारका घरहरू डुबानमा परेका छन्। डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए ।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म डुबाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले जानकारी दिए।
बजारमा बाढी पसेर घर तथा पसलमा रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको डिएसपी लामाले बताए।
जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरू पनि बाढीले डुबानमा पारेको प्रहरीले जनाएको छ।
भदौ ११, २०७८ शुक्रबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।