सरकारले वेपत्ता धामीका परिवारलाई १० लाख दिने, योजना आयोगमा दुई सदस्य नियुक्त
काठमाडौँ : सरकारले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका परिवारलाई १० लाख रुपैयाँ नगद सहयोग दिने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले तुइन तर्ने क्रममा बेपत्ता भएका धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको कानुन मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बैठकले गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई सहयोग स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रीपरिषद् बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए। उनले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको बताए।
त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको बताए।
सारकोभ खोपका बारेमा स्वास्थ्य मन्त्रालयले थप जानकारी दिने मन्त्री कार्कीले उकेरालाई बताए।
अतिकम विकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअल रूपमा नेपालको तर्फबाट सहभागिता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ।
भदौ १०, २०७८ बिहीबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।