सञ्जालमा माधव नेपालमाथि खनिए उनकै समूहका पूर्व सदस्य रावल :  एमालेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो

सञ्जालमा माधव नेपालमाथि खनिए उनकै समूहका पूर्व सदस्य रावल :  एमालेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो

काठमाडौँ : माधवकुमार नेपालको समूहमा रहेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध टिप्पणी गर्दै आएका एमालेका उपाध्यक्ष भीम रावल अब सामाजिक सञ्जालमार्फत  नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध खनिन थालेका छन्।

नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि बिहीबार पत्रकार सम्मेलन गरेर नेपालले एमाले दक्षिणपन्थी भासमा जाकिएको टिप्पणी गरेका थिए। 

अन्तिम समयमा समूह परिवर्तन गरेर १० बुँदे सहमतिको कार्यान्वयनलाई देखाउँदै ओली समूहमा विलय भएका उनले दक्षिणपन्थी दलसँग सहकार्य गरेर पदमा जान खोज्नेहरूले एमालेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो भन्दै आलोचना गरेका छन्।

'दक्षिणपन्थी पुँजीवादी नेका (नेपाली काँग्रेस) सँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो,' रावलले ट्विट गर्दै भने,'अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो।'

नेकपाहुँदै एमाले ब्युतदासम्म ओलीविरुद्ध खनिँदै आएका रावल पछिल्लो समय ओलीसँग लचिलो बन्दै गएका थिए। पार्टीको विवाद समाधान गर्न दुवै समूहले गठन गरेको कार्यदलमध्ये रावलले नेपाल समूहको कार्यदलको नेतृत्व गर्दै नेपालको सहमति विपरीत १० बुँदे सहमति गरेका थिए। नेपालले नयाँ पार्टी गठन गरेपछि रावलसहितका १० जना नेताहरू ओली समूहमै विलय भएका थिए।

भदौ १०, २०७८ बिहीबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।