दार्चुला घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन
सिंहदरबारमा आज बिहीबार बसेको समिति बैठकले दार्चुला घटनाको प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो।
त्यस्तै बैठकले उक्त घटनामा कूटनीतिक पहलद्वारा दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन।
बैठकले दार्चुलाको व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सरकारलाई भनेको छ।
समिति सभापति श्रेष्ठले दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुङ्गे एवं पक्की पुल निर्माण प्रक्रिया तत्काल सुरु गर्न पनि निर्देशन दिएको जानकारी दिइन।
बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको तीन वर्ष पुरा हुदा पनि कानुनी कारबाही हुन नसकेको भन्दै छिटो भन्दा छिटो दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको उनले बताए।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार गर्ने क्रममा रहेको जानकारी दिए। छिटै सत्य तथ्यका आधारमा रिपोर्ट सार्वजनिक गरिने गृहमन्त्री खाँणले बताए।
‘छानबिन समितिले बुझाउने प्रतिवेदनका आधारमा दोषीलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्न सकिन्छ भन्ने विश्वास छ’ उनले भने। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अहिले पनि जारी रहेको उनले जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले दार्चुला घटनाको सत्य तथ्य छिटो सार्वजनिक गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए। साथै उनीहरूले पीडित परिवारलाई आवश्यक राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छैन।
भदौ १०, २०७८ बिहीबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।