ओलीले एमालेलाई निजी कम्पनी बनाएपछि नयाँ दल : समाजवादी अध्यक्ष नेपाल
काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले ओलीले मार्क्सवादी सिद्धान्तलाई तिलाञ्जली दिएर पार्टीलाई निजी कम्पनी बनाएपछि नयाँ दल दर्ता गरेको बताए।
‘पार्टीलाई दक्षिणपन्थी भासमा लगेर मार्क्सवादी सिद्धान्तलाई तिलाञ्जली दिए,’नेपालले भने, ‘पार्टीलाई निजी कम्पनी बनाएर क्रान्तिकारी योद्धालाई पार्टीबाट निष्कासन गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प भएन।’
उनले यो कम्युनिस्ट पार्टीको पुनर्गठन भएको बताए। एमालेमा पीडित भएका सबै क्रान्तिकारीको ठुलो पङ्क्तिले ओलीको समूहबाट विद्रोह गरेका नेपालको दाबी छ। ‘ओलीको समूहबाट विद्रोह गरेका छन्, समाजवादीमा एकताबद्ध भएका छन्,’नेपालले भने,‘केपी ओलीको गुटबाट छुटकारा पाउनुहोस्।’
उनले ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चाल्ने कीर्तिमान कायम गरेको बताए। चैत २८ गते एमालेलाई विभाजन गर्ने कदम ओलीले चालेको नेपालको भनाई छ। ‘सरकार सञ्चालनमा असफल भए, पार्टीलाई तहस नहस बनाए,’उनले भने,‘नेकपा विभाजन हुँदा भोज भतेर गरेर खुसीयाली मनाउने ओलीले चैत २८ गते एमाले विभाजन गर्न कदम चाले।’
२०७७ चैत २८ गते ओलीले आफू निकट केन्द्रीय कमिटीको बैठक राखेका थिए। उनले वरिष्ठ नेता नेपाल सहितका नेतालाई कारबाही र पार्टीबाट निष्कासन गर्ने निर्णय समेत गराएका थिए।
उनले एकीकृत समाजवादी पार्टीले पुरानो बाटा नपछ्याउने बताए। ‘क्रान्तिकारी संस्कारयुक्त पार्टी हुनेछ, समाजवादको नेपाली मोडल बनाएर राष्ट्र जनता र समर्पित हुनेछ,’उनले भने,‘समाजवादी दल कुसंस्कारीको झुन्ड हुने छैन, मार्क्सवाद, लेनिनवाद र समाजवाद प्रति समर्पित हुनेछ।’
उनले राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व चयन हुने बताए। उनले समाजवादी पार्टीले बाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने बताए।
भदौ १०, २०७८ बिहीबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।