निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको टुङ्गो नहुँदा कांग्रेस वडा अधिवेशन अन्यौलमा

निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको टुङ्गो नहुँदा कांग्रेस वडा अधिवेशन अन्यौलमा

वडा अधिवेशन आउन ८ दिन मात्र बाँकी हुँदा सम्म निर्वाचन समितिलाई क्रियाशील सदस्य कहाँ कति छन्? पुराना कति र नयाँ कति भन्ने निर्वाचन समितिलाई जानकारी छैन।

नेपाली काँग्रेसले समावेशिताको आधारमा वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था गरे पनि क्रियाशील सदस्यता टुङ्ग्याउन ढिला गर्दा समितिले समावेशी प्रतिनिधि चयनको आधार तय गर्न नसकेको हो।

विधानमा जनसङ्ख्यालाई आधार मानेर समावेशिताको आधारमा प्रतिनिधि चयन गर्ने भनिए पनि केन्द्रीय समितिले निर्धारित क्लष्टर अनुसार कहाँ कति सङ्ख्या छ भन्ने स्पष्ट नपार्दा निर्वाचन प्रक्रिया अघि बढाउन कठिन भएको निर्वाचन समितिका संयोजक महेन्द्र यादव बताउँछन्।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच क्रियाशील सदस्यतामा देखिएको विवादमा सहमति जुटे पनि सदस्यको सूची अहिले सम्म सार्वजनिक भएको छैन। वडा तहका मतदाता रहने क्रियाशील सदस्यको नामावली निर्वाचन समितिमा उपलब्ध गराइएको छैन।

‘नामावली र समावेशिताको निर्धारण माग्दा सधैँ भोलि भन्नु हुन्छ तर अहिले सम्म केही आएको छैन’, निर्वाचन समितिका संयोजक यादव भन्छन्, ‘आज पनि सबै कुरा प्राप्त भएन भने वडाको अधिवेशन कसरी गराउन सकिन्छ ?’ 

यादवका अनुसार पार्टी विधान अनुसार समावेशितामा तोकिएका ‘क्लष्टर’ अनुसार जनसङ्ख्याको विवरण निर्वाचन समितिलाई आवश्यक पर्छ। क्रियाशील सदस्य मात्र नभई त्यो वडाको कुल जनसङ्ख्या र तोकिएको ‘क्लष्टर’ को जनसङ्ख्याका आधारमा प्रतिनिधि चयन गर्ने सूत्र बनाउनु पर्ने हुन्छ। काँग्रेसले यस पटक बाट जनसङ्ख्याको आधारमा कहाँ बाट कसको प्रतिनिधित्व कति हुने भन्ने वैधानिक व्यवस्था गरेको छ।

‘विधान अनुसार अधिवेशन गराउनु भन्ने अनि विधानमा भएको व्यवस्था समयमा उपलब्ध नगराउने, यस्तो पनि हुन्छ?’, यादवले आक्रोश व्यक्त गरे, ‘सदरमुकाम बाट ५–६ दिन हिँड्ने ठाउँ सम्म निर्वाचन सामाग्री पुर्याउनु पर्छ, अहिले सम्म जे नभई नहुने हो त्यही दिएको छैन।’

कांग्रेसले निर्वाचन निर्देशिका तयार गर्न महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको थियो। भदौ २ गते उपलब्ध गराउनुपर्ने निर्देशिका अझै नदिँदा अधिवेशनको प्रक्रिया थाल्नै समस्या भएको निर्वाचन समितिले जनाएको छ।

नेतृत्व तहमा क्रियाशील सदस्यता विवादमा सहमति भए पनि जिल्ला सभापतिहरू विभिन्न माग राखेर पार्टी केन्द्रीय कार्यालयमा अनशन बस्न थालेका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने, सूचीमा देखिएका त्रुटि सच्याउने समय दिनुपर्ने र जिल्ला सभापतिको उम्मेदवार बन्न सबै जिल्लामा एउटै प्रावधान लागु गर्नुपर्ने माग राखेर सभापतिहरू अनशनमा बसेका हुन्।

 

भदौ १०, २०७८ बिहीबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।