माधव र महन्थले दल दर्ताको प्रमाणपत्र बुझे   

माधव र महन्थले दल दर्ताको प्रमाणपत्र बुझे   

आयोगले माधवकुमार नेपालको एकीकृत समाजवादी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्ने निर्णय भएको आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

आयोगले दल दर्ता गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी पार्टीले नयाँ दल दर्ताको प्रमाणपत्र बुझेको केन्द्रीय सदस्य प्रेमलकुमार खनालले जनाकारी दिए। 

दल दर्ता गर्ने निर्णयसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी लोकतान्त्रिक औपचारिक विभाजन भएका छन्। 

दल दर्ताका लागि नेकपा एमाले छाडेका सङ्घीय संसद्का ३० जना र केन्द्रीय कमिटीका ५५ जनाले निर्वाचन आयोगमा सनाखत गरेका थिए।

सनाखतका लागि आयोगमा गएका सांसद सोमप्रसाद पाण्डे, शारदादेवी भट्ट र माया न्यौपानेको बारेमा आयोगले कुनै निर्णय गरेन। 

महन्थ ठाकुर पक्षमा सङ्घीय संसद्का १४ जनाले सनाखत गरेका थिए। आयोगले अब संसद् सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी दिने जनाएको छ। 

एकीकृत समाजवादीले पाएको दल दर्ताको प्रमाणपत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट भदौ २०७८ भदौ ९ मा निर्णय भएकाले प्रमाणपत्र दिइएको लेखिएको छ। 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा रहने उल्लेख छ। 

यस्तै जनता समाजवादी नेपाल नामक राजनीतिक दलबाट छुट्टिई बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने गरी आयोगबाट २०७८ भदौ ९ मा निर्णय भएकाले प्रमाणपत्र दिइएको लेखिएको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बबरमहल काठमाडौँमा रहने उल्लेख छ।

 

भदौ ९, २०७८ बुधबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।