सनाखत गर्न आयोग पुग्यो ठाकुर-महतो समूह
काठमाडौं : नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (सजपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सनाखतका लागि निर्वाचन आयोग पुगेको छ।
सरकारले अध्यादेशमार्फत दल फुटाउने अध्यादेश जारी गरेपछि जसपाको ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।
आयोगले आज नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि कार्यकारिणी सदस्यहरूको दस्तखत सनाखत गर्ने समय दिएको थियो। अहिले राजेन्द्र महतो र महन्थ ठाकुर लगायत १७ जना सांसद आयोग पुगिसकेका छन्। अन्य सदस्य आउने क्रम जारी छ। जसपाका ३१ जना केन्द्रीय सदस्य र १५ जना सङ्घीय सांसद निर्वाचन आयोग गएर दस्तखत सनाखत गर्ने नेता राजेन्द्र महतोले जानकारी दिए।
उनका अनुसार जेल सजाय भोगिरहेका सांसद रेसम चौधरीले समेत कार्यकारिणी समिति सदस्यको हैसियतले आयोगमा दस्तखत सनाखत गर्नेछन्। निर्वाचन आयोग पुगेका महतोले भने, ‘हामी उपेन्द्र यादवसँग मिलेर गल्ती गरिएछ। अब नयाँ दलले आधिकारिकता पाएपछि संगठन विस्तार गर्दै अघि बढ्छौं।’
प्रस्तावित लोकतान्त्रिक समाजवादीका नेताहरू निर्वाचन आयोगको १०३ र १०४ नम्बरको कोठामा आफ्नो दस्तखत सनाखत गराइ रहेका छन्।
भदौ ९, २०७८ बुधबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।