टुरिस्ट बस चढेर नेपाल समूह निर्वाचन आयोगमा, नयाँ पार्टीलाई प्रदीप नेपालको साथ

टुरिस्ट बस चढेर नेपाल समूह निर्वाचन आयोगमा, नयाँ पार्टीलाई प्रदीप नेपालको साथ

काठमाडौँ  : नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेको माधव नेपाल सहितको टोली टुरिस्ट बस चढेर सनाखतको लागि निर्वाचन आयोग पुगेको छ।

माधव नेपाल र उनको पार्टीका केन्द्रीय सदस्यहरू दुई वटा टुरिस्ट बस चढेर आज बिहान करिब सवा ११ बजे सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन्। नेताहरू बैठक बसिरहेको चन्द्रागिरि हिल रिसोर्टबाट बा१प ६५९ र बा१प ७३६ नम्बरको टुरिस्ट बसमा आयोगको कार्यालय आएका थिए।

आयोग आउनासाथ दस्तखत सनाखतको प्रक्रिया सुरु भइसकेको छ। सनाखत गर्न राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३३ जना सांसद सहभागी भएको सांसद मिरादेवी जैरीले बताइन्। जैरीका अनुसार सनाखतका लागि ५८ जना केन्द्रीय सदस्य आयोग पुगेका छन्। वरिष्ठ नेपाल झलनाथ खनाल उपचारको क्रममा देश बाहिर रहेकाले उनले वारेसमार्फत सनाखत गराउन लागेको जैरीले जानकारी दिइन्।

सुरुमा आफू माधव नेपाल समूहमा नरहेको दावी गर्ने प्रदीप नेपाल पनि आयोगमा पुगेका थिए।

सनाखतका लागि आएका प्रस्तावित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जग्गनाथ खतिवडाले अहिले केपी ओलीसँग लागेका नेताहरू पनि यही पार्टीमा आउने दावी गरे। उनले पहिलो ट्रेन छुटाएका ओली प्रवृत्तिलाई स्वीकार्न नसक्ने नेताहरू दोस्रो ट्रेनमा पार्टीमा आउने प्रतिक्रिया दिएका थिए।  

सनाखतपछि निर्वाचन आायोगबाट आजै आधिकारिकता पाउने नेताहरूले बताएका छन्। नयाँ पार्टीको चुनाव चिह्न भने टुङ्गिन बाँकी छ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन संशोधनपछि दर्ता हुन आएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज आयोग बोलाएको थियो।

भदौ ९, २०७८ बुधबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।