सिंह निवासमा कांग्रेस पौडेल पक्षका नेताको छलफल हुँदै

सिंह निवासमा कांग्रेस पौडेल पक्षका नेताको छलफल हुँदै

काठमाडौँ  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बुधवार बिहानै बाट पार्टीको आगामी नेतृत्व र वर्तमान समस्याको समाधानको विषयमा छलफलमा जुटेका छन्।

 पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नेतृत्व चयन लगायतका विषयमा छलफल गर्न पार्टी नेताहरू चाक्सीबारी स्थित नेता प्रकाशमान सिंहको घरमा जुटेका हुन्। सहभागी एक नेताका अनुसार आगामी महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बनाउने प्रयासका लागि थालिएको छलफलको निरन्तरता हो। 

उनीहरूबिच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्ना लगायतका विषयमा पनि छलफल हुने ती नेताले बताए। 

 छलफलमा नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायत उपस्थित छन्।

कांग्रेसमा पौडेल समूहबाट पौडेल सहित महामन्त्री डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताले सभापतिको उम्मेदवार हुने आकांक्षा राखेका छन्। 

 

भदौ ९, २०७८ बुधबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।