माओवादीले तोक्यो नेताको कार्य विभाजन
काठमाडौँ : नेकपा (माओवादी) केन्द्रले पार्टी सङ्गठन र विभागहरूको कार्य विभाजन गरेको छ।
माओवादीले केन्द्रीय समितिको विभिन्न विभाग तथा प्रदेश र जिल्ला कमिटिकोे कार्य विभाजन गरेको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको स्कुल विभाग इन्चार्ज भएका छन्। विभागको प्रमुखको जिम्मेवारी गिरिराजमणि पोखरेललाई दिइएको। कार्य विभाजन अनुसार पूर्व सभामुख कृष्णबहादुर महराले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन्। प्रवास समिति इन्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई तोकिएको छ।
प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सुरक्षा विभाग प्रमुखको पनि जिम्मेवारी पाएका छन्। सङ्गठन विभाग प्रमुखमा जनार्दन शर्मा, अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, निर्वाचन विभाग प्रमुखमा खिमलाल देवकोटा, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरिबोल गजुरेल, विदेश मामला विभाग प्रमुखमा सुरेन्द्र कार्की तोकिएका छन्।
त्यस्तै स्थानीय तह विभाग प्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य विभाग प्रमुखमा कल्पना धमला, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, सहरी विकास विभाग प्रमुखमा देवेन्द्र पौडेल तोकिएका छन्। पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा र वन तथा वातावरण विभाग प्रमुखमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ।
प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की इन्चार्ज र सुरेन्द्रकुमार राई अध्यक्षमा रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहालको परिपत्रमा उल्लेख छ। अध्यक्ष तोक्न बाँकी रहेको प्रदेश नम्बर २ को इन्चार्जमा गणेश शाहलाई जिम्मेवारी दिइएको छ। बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल चयन भएका छन्।
गण्डकी प्रदेश इन्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारी तथा लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल बलदेव र ओनसरी घर्ती अध्यक्ष भएका छन्। कर्णालीमा इन्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन्। खगराज भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अध्यक्ष तोक्न बाँकी छ।
त्यसै गरी विशेष समिति इन्चार्जमा लीलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकिएको छ। राष्ट्रिय युवा सङ्घ नेपाल र सम्बद्ध सङ्गठनहरूको इन्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटालाई दिइएको छ।
भदौ ९, २०७८ बुधबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।