नेकपा समाजवादीको निष्कर्ष : दक्षिणपन्थी धारमा गएका ओलीले रोइलो गर्नु बेकार छ
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादीले पार्टीको विधान, नियमावली र घोषणापत्र तयार गरेको जनाएको छ।
समाजवादी पार्टीको कार्यनीति र कार्यदिशा समेत तय गरिएको केन्द्रीय सदस्य प्रेमल खनालले बताए। ‘समाजवादी क्रान्ति गर्ने कार्यनीति र कार्यदिशा तय भएको छ,’खनालले उकेरासँग भने,‘हिजोको भन्दा नवीन हुनुपर्छ भन्ने सुझावका आधारमा कार्यनीति र कार्यदिशा तय भएको छ।’
एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीकै कारण नयाँ दल दर्ता गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ। ‘अन्र्तसंघर्षको कुरा गर्नेहरूबाटै गल्ती सच्याउने काम भएको छैन,’उनले भने,‘केपी ओली मात्रै पार्टी एकताका लागि बाधक हुन् भन्ने निष्कर्ष बैठकको रहेको छ।’
बुधबार बिहान ११ बजे निर्वाचन आयोगमा सनाखतका लागि जाने मात्रै तयारी रहेको उनले बताए। ‘पार्टीको सबै तयारी पूरा भएको छ,’ भोलि (बुधबार) निर्वाचन आयोगमा गएर सनाखत गर्न डडेलधुरादेखि साथीहरू आउँदैहुनुहन्छ।’
नेकपा एमालेको नेतृत्व सुध्रन तयार नभएको निष्कर्ष प्रस्तावित समाजवादी पार्टीले निकालेको छ। ‘दुई नेताबीच बोलचाल नै छैन,’उनले भने,‘दक्षिणपन्थी धारमा गएका ओलीले रोइलो गर्नु बेकार छ।’
उनले निर्वाचन आयोगमा ४० प्रतिशत सदस्यले समाजवादी पार्टीको नाममा सनाखत गर्ने दाबी समेत गरे। सोम पाण्डे, कृष्ण खनाल, माया ज्ञवाली आइसकेको एकीकृत समाजवादी पार्टीले जनाएको छ। ‘पार्टी दर्तामा २० होइन ४० प्रतिशत पुग्छ,’उनले भने,‘केन्द्रीय सदस्य देखि सांसदसम्म आउने क्रम जारी छ।’
एकीकृत समाजवादीलाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ दिने प्रतिबद्धता जनाएका छन्। तेस्रो धारका रूपमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा गएकाहरू ओलीको व्यवहारका कारण पछि निराश हुँदै समाजवादीमै आउने नेताहरूले बैठकमा बताएका छन्।
भदौ ८, २०७८ मंगलबार २२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।