नेपाल समूहका १० नेतालाई साक्षी राख्दै नेता ज्ञवालीले भने ' एमाले विभाजन गर्ने प्रयास असफल भयो

नेपाल समूहका १० नेतालाई साक्षी राख्दै नेता ज्ञवालीले भने ' एमाले विभाजन गर्ने प्रयास असफल भयो

एमाले स्थायी कमिटी बैठकले नयाँ दल दर्ता गर्ने प्रक्रिया रद्द गरेर एकतामा आउन आव्हान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

उनले एकतामा आउनेलाई कुनै पनि पूर्वाग्रह र भेदभाव राखेर कारबाही नहुने बताए। वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ताका लागि दिएको निवेदन अनुसार निर्वाचन आयोगले सनाखतका गर्न बोलाएको अघिल्लो दिन बसेको बैठकले पार्टी एकतामा फर्कन आव्हान गरेको हो। 

नेपालसँग रहे पनि नयाँ दल दर्ता प्रक्रियामा सहभागी नभएर तेस्रो धारका १० जना नेतासहितको बैठकले एकतामा फर्कन आव्हान गरेको हो। बैठकपछि अध्यक्ष ओलीसहितका नेताहरूले सामूहिक तस्बिर खिचेका छन्। अध्यक्ष ओलीले भोलि बुधवार ११ बजे पत्रकार सम्मेलन गर्ने जानकारी गराएर केही नबोली बाहिरिएका छन्। 

प्रवक्ता ज्ञवालीले भने माधव नेपाललाई दोस्रो अध्यक्ष दिन केपी शर्मा ओली तयार भए पनि नेपालको नियत नै पार्टी विभाजन गर्ने भएको आरोप लगाए। 

एमालेले २०७५ जेठ २ गतेकै जिम्मेवारीमा रहेर क्रियाशील हुन सबै तहका पदाधिकारी र सदस्यलाई भनेको छ। जेठ २ कै कमिटी क्रियाशील हुने भने पनि नेकपा माओवादीबाट एमालेमा गएकाहरूको जिम्मेवारी कायमै रहेको प्रवक्ता ज्ञवालीले बताए। 

‘विभाजनको कुनै पनि प्रयास सम्भव भएको छैन। विभाजन असफलतामा गएर टुङ्गिएका छन्,’प्रवक्ता ज्ञवालीले भने,‘हामी बोलाइरहने र उहाँहरू भागिरहने भइरहेको छ, दल दर्ताको प्रक्रिया बदर गरेर एकतामा आउन आव्हान गर्ने निर्णय भएको छ।’ 

उनले पार्टी भित्र उत्पन्न समस्याका कारण लामो समयसम्म बैठकमा सहभागी हुन नसकेका पार्टीका १० जना पार्टी एकता र सुदृढीकरणका लागि आउनु भएको बताए। 

स्थायी कमिटी बैठकले १० प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए। उनले यसका लागि महासचिव ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, लेखराज भट्ट रहेको कार्यदल गठन गरेको बताए। 

एमालेले पार्टीको १० औँ महाधिवेशन मङ्सिर १०,११ र १२ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। असोज ४, ५ र ६ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिए। कार्तिक ६ गते सबै वडाको र ९ गते पालिका वा सो सहरका अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ। 

प्रवक्ता ज्ञवालीले सभामुख अग्नि सापकोटाले १४ जना सांसदलाई पदमुक्त नगरेकोमा आपत्ति जनाए। ‘के देशमा दुइटा कानुन हो? एमालेका लागि छुट्टै र गठबन्धन दललाई छुट्टै,’ज्ञवालीले भने, ‘सभामुखले कानुनले नचिन्ने र नमान्ने काम गर्नु भएको छ।’

भदौ ८, २०७८ मंगलबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।