नयाँ पार्टी गठन भए पनि एमालेसँग एकता हुन सक्छ : माधव नेपाल
उनले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्ने बाहेक अर्को विकल्प नदेखिएको बताए।
काठमाडौँको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित पार्टीको छलफलका विषयमा मंगलबार पत्रकारलाई जानकारी दिँदै नेपालले एकताका नाममा पार्टी कब्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफूहरूले नयाँ विकल्प रोजेको बताए।
नेपालले एकता गर्ने नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको तर्क गरे। पार्टी पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अव केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरू अर्कातिर पुगेको नेपालको भनाई छ।
अन्य वामपन्थीहरूसँग चुनावी तालमेल हुने र समाजवादको दिशामा अघि बढ्ने नेपालले बताए। तेस्रो धारमा उभिएका नेताहरूप्रति लक्षित गर्दै उनले जेठ दुई गतेका बारेमा चलाइएको चर्चा एमालेमा छिर्ने बहाना मात्र भएको बताए।
त्यस्तै नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उनले रोज्ने दलका विषयमा भन्ने शाक्यमा नै भर पर्ने बताए।
नेपालले सनाखतमा लागि २० प्रतिशत भन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दाबी गरे। उनले नयाँ पार्टीको विधानका बारेमा ठन्डा दिमागले छलफल गर्न चन्द्रागिरिमा बैठक राखिएको बताए।
भदौ ८, २०७८ मंगलबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।