एमालेमा तेस्रो धारका नेतासँगको छलफल सकारात्मक : स्थायी कमिटी बैठक मङ्गलवार बस्दै
काठमाडौँ : तेस्रो धारका नेताहरूसँगको छलफलपछि नेकपा एमालेले मङ्गलवार स्थायी कमिटीको बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार तेस्रो धारका नेताहरूसँग पार्टी एकीकरणको विषयमा छलफलपछि २०७५ जेठ २ गतेको अवस्थाको स्थायी कमिटीको बैठक बोलाएको हो। एमाले अध्यक्ष ओली विगतमा कार्यदलले सहमति जुटाएको १० बुँदे कार्यान्वयन गर्न तयार भएपछि तेस्रो धारका नेताको समेत स्वीकृतिमा स्थायी कमिटीको बैठक बोलाएको हो।
एमालेको संस्थापन समूह सँगको छलफल सहमति नजिक पुगेको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल १० बुँदेलाई कार्यान्वयनमा लैजान प्रतिबद्ध भएको विष्टले प्रतिक्रिया दिएका छन्।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलले एमाले विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनमा गइसकेकाले त्यसलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने सम्बन्धमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको बताए।
भदौ ७, २०७८ सोमबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।