सभापतिको साझा उम्मेदवार छान्न काँग्रेसको पौडेल पक्षको छलफल

सभापतिको साझा उम्मेदवार छान्न काँग्रेसको पौडेल पक्षको छलफल

काठमाडौँ :  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवारका आकांक्षीहरु साझा उम्मेदवार चयनका लागि छलफलमा जुटेका छन्।

क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेसँगै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने चर्चा गरिरहेका पौडेल पक्षका नेताहरू सहमतिमा साझा उम्मेदवार चयन गर्न छलफलमा जुटेका हुन्। 

बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, जीवन परियार लगायत नेता सहभागी थिए। छलफलमा सबै सहभागीले आफू सभापति हुनुपर्ने दाबी पेस गरेका बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा सहमतिमा साझा उम्मेदवार तय गर्न छलफल जारी राख्ने निर्णय भएको बैठकका एक सहभागीले बताए।

सभापति शेरबहादुर देउवाको विकल्पमा एक जुट हुनुपर्ने बताए पनि पौडेल पक्षका नेताहरू सभापतिमा एकले अर्कालाई स्विकार्न नसक्ने अवस्थामा छन्। 

 

भदौ ७, २०७८ सोमबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।