एमाले एकता: मध्यमार्गी नेताको घिडघिडो मात्र

एमाले एकता: मध्यमार्गी नेताको घिडघिडो मात्र

 काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल बिचको अन्तर सङ्घर्षको क्रममा नेपाललाई साथ दिएका केही नेता पार्टी एकताको प्रयासमा सक्रिय छन्।

नेपाल नयाँ दल दर्ता प्रक्रियामा गइसके पनि उपाध्यक्ष भीम रावलसहितको टिम नेपाललाई पार्टी नफुटाउन र रावलसहितको कार्यदलले सहमति गरेको १० बुँदे सहमति स्विकार्न दबाब दिन सक्रिय छन्। तर उनीहरूको दबाबले दुबैतिर प्रभाव परेको सङ्केत देखिन्न।

नेपाल र ओली बिचको असहमति बढ्दै गएका बेला नेपाल सहित उनको पक्षमा लागेका १४ सांसदलाई ओलीले कारबाहीको निर्णय गरेपछि नेपाल समूह नयाँ दल दर्ताको प्रक्रियामा गएको थियो।

राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश आएपछि नयाँ दल दर्तामा जाँदा नेपाललाई उपाध्यक्ष रावलसहित अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, अमृत बोहोरा लगायतले साथ छाडेर पार्टी एकताका लागि दबाब दिन थालेका छन्। नेपाल पछाडि फर्कन नसक्ने गरी अघि बढी सकेपछि प्रभावशाली नेताले साथ छाडे पनि कारबाहीमा परेका १४ सांसद सहित ५८ केन्द्रीय सदस्य लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराए।

वार की पारमा लागि सकेको नेपाल समूहलाई विगतमा उनकै समूहमा रहेका दोस्रो पुस्ताका नेताहरू पार्टी एकीकरणको बाटोमा फर्कन दबाब दिइरहेका छन्। तर त्यो उनीहरूको घिडघिडो झैँ मात्र देखिएको छ। मध्यमार्गीको रूपमा सक्रिय नेतालाई पार्टी अध्यक्ष ओलीसँग संवादमा छन् तर संवाद सार्थक देखिएको छैन।

पार्टी दर्ताले कानुनी प्रक्रिया पूरा नगरेसम्म उनीहरू लागिरहने देखिन्छ। आफूहरूले एकता प्रयास अझै कायम राखेको मध्यमार्गी धारमा लागेका नेता गोकर्ण विष्टले बताए। उनी नेपाल लगायत सांसदलाई गरिएको कारबाही फिर्ता र १० बुँदेको अक्षरशः पालना गर्नुपर्ने सर्त यावत रहेको बताउँछन्।

पार्टी अध्यक्षले यी दुई कुरामा सहमति जनाएपछि नेपालले पार्टी दर्ताको प्रक्रिया फिर्ता लिनुपर्ने उनको भनाई छ। ‘हामी अन्तिम समयसम्म एकता प्रयास जारी राख्छौँ’, पार्टी एकता भएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा विष्टले उकेरासँग भने, ‘त्यसपछि के हुन्छ भन्ने कुरा पछि नै भनौँला।’ पार्टी एकताकै पक्षमा रहेका नेता अरुण नेपाल पनि आफूहरूको टिम एकताको प्रयासमा निरन्तर लागिरहेको बताउँछन्। पार्टी अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा लचिलो देखिएको उनको बुझाई छ।

‘हामी निरन्तर संवादमा छौँ, पार्टी एकताको लागि अध्यक्ष लगायत उहाँको टिम सकारात्मक देखिन्छ।’, नेपालले टेलिफोनमा भने, ‘माधव नेपाल नयाँ पार्टी दर्ताको सनाखत गराउने चरणमा हुनुहुन्छ, उहाँ पनि त्यो प्रक्रिया छाडेर फर्कनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ दुवै पक्षले १० बुँदे स्विकारी सकेको अवस्थामा संस्थापन पक्षले लचिलो भएर कार्यान्वयन गर्छु भने पछि नेपाल पक्ष पार्टी एकतामा तयार हुनुपर्ने उनको अडान छ।

नेपाल पक्ष एकतामा नफर्किए पनि पार्टी एकताको पक्षमा रहेका मध्यमार्गी धारमा रहेका सबै नेता संस्थापन एमालेमै रहने नेपालले दाबी गरे। ‘अहिले तत्काल नभए पनि बिस्तारै माधव नेपाल लगायत सबैलाई मूलधारमा ल्याउने गरी हामी सबै एमालेमै रहन्छौँ।’, नेपालले भने। उता मध्यमार्गी धारको नेतृत्व गरिरहेका भीम रावललाई सुदूर पश्चिमका कार्यकर्ताले नेपाल समूहमै रहन दबाब दिएका छन्।

सुदूर पश्चिम प्रदेशका प्रदेश सांसदहरूको टोलीले आइतबार नेता रावललाई भेटेर नेपाल समूहले दर्ता गर्न लागेको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्न दबाब दिएका हुन्। भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेता १० बुँदे कार्यान्वयनको मोडिलाटी बारे छलफल गर्न सोमबार बिहान  ओली निवास बालकोट पुगेका छन्।

भदौ ७, २०७८ सोमबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।