म्याग्दीमा बाढीले एक घर बगायो, २२ घर जोखिममा 

म्याग्दीमा बाढीले एक घर बगायो, २२ घर जोखिममा 

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३, दुधे खोलामा अविरल वर्षासँगै आएको बाढीले एक घर बगाएको छ।

बाढीको कारण २२ घर जोखिममा परेका छन् । गए राती आएको बाढीले  दीपा पुनको घर बगाउँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। राती ११ बजेपछि आएको बाढीले घरमा क्षति पुर्याउन थालेपछि घरमा रहेका ३ जना राती नै घर छोडेर आफन्तकोमा गएका थिए। 

बाढीले घरमा रहेका सबै समान बगाएको स्थानीयले बताए। मध्य रातमा दुधे खोला बस्तीमा पसेपछि घर बगाएको स्थानीय जनप्रतिनिधि गेमप्रसाद घर्ती मगरले बताए। भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधे खोलामा मिसिएकोले खोलामा बाढी आएको उनले जानकारी दिए।

उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने नारायण पुन र तिलाराम थापाको घर उच्च जोखिममा छ । दुधे खोला र म्याग्दी नदीको कटानका कारण तल्लो र उपल्लो भागमा गरी ४५ परिवारको बसोबास रहेको सिंगो बस्ती जोखिममा रहेको घर्ती मगरले जानकारी दिए। बाढीले दुधे खोलादेखि करिब ८ सय मिटरको दुरीमा रहेको वस्ती कटान गरेको छ।

दुधे खोला र कोप्रे खोलाको बिचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उनले बताए।बाढीका कारण मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका चार वटा वडालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ। खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले क्षतिको विवरण सङ्कलन गर्नुका साथै जोखिमयुक्त घरपरिवारका व्यक्ति र सामानलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।

भदौ ७, २०७८ सोमबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।