आज गाई जात्रा पर्व मनाइँदै
काठमाडौँ : आज काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न सहरमा गाई जात्रा पर्व मनाइँदै छ।
गाइजात्रा विशेष गरी नेपालको नेवार समुदायले मनाउने पर्व हो। काठमाडौ उपत्यका लगायत विभिन्न स्थानमा बस्ने नेवार समुदायले आफ्ना मरेका आफन्तजनको संझनामा गाइजात्रा पर्व मनाउने गरेका छन्। यो सुदायमा आफ्ना दिवंगत आफन्तको सम्झनामा गाइजात्रा पर्व मनाउँदा दिवंगत आत्मा सजिलै स्वर्ग पुग्न सक्ने जनविश्वास पाइन्छ।
गाइजात्रा मनाउँदा आफ्ना दिवंगत आफन्तको सम्झनामा गाइको अनुहार र गणेशको चित्र अंकित गरी शहर परिक्रमा गर्ने परम्परा छ। गाइ पाल्नेहरुले गाइलाई सिंगारेर बजार परिक्रमा गराउँछन्। नेवारी भेषभुषा र विभिन्न आकृतिको मखुण्डो लगाएर बाजा गाजासहित नाचगान गर्ने चलन छ।
यो चलन प्रताप मल्लका छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युपछि सुरु भएको इतिहाँस छ। छोराको निधनपछि शोकमा डुबेकी रानीलाई शहरमा वर्षभरी कति जनाको आफन्तको मृत्यु भयो र कति जना शोकमा छन् भनि सान्त्वना दिन यो जात्राको सुरु गराएको विश्वास गरिन्छ।
काठमाडौँ उपत्यका लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा यो पर्व धूमधामले मनाइने गरिएको छ।
गाइजात्रा पर्वलाई समाजमा व्याप्त विकृति र विसंगति विरुद्ध व्यंग्य गने पर्वका रुपमा पनि लिइन्छ। विगतमा हांस्य व्यंग्य कलाकारहरुको समुहले गाइजात्राको अवसरमा व्यंग्यात्मक कार्यक्रमहरु आयोजना गर्ने गरेको भएपनि गत वर्षदेखि कोभिड महामारीका कारण यस्ता प्रहशन भने गरिएको छैन।
गाइजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भरी तथा संङ्घीय सरकारले नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ।
भदौ ७, २०७८ सोमबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।