अहिले हाम्रो पार्टी नै छैन, त्यसैले सरकारमा जाने कुरा गर्नु बेकार : खतिवडा
माधव नेपाल समूहको प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले आफूसँग आधिकारिक पार्टी नभएकाले सरकारमा सहभागी हुने कुरा गर्न नसुहाउने बताएका छन्।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता नआउँदासम्म आफूहरू बिना पार्टीको भएकाले सरकारमा सहभागी हुने विषयमा अनावश्यक बहस गर्नु बेकार भएको बताएका हुन्। अहिले आफू आधिकारिक रूपमा कुनै पार्टीको हुन नसकेकाले पार्टी नै नभई सरकारमा सहभागिताको विषय उठाउनु सान्दर्भिक नहुने उनले बताए।
‘खल्ती हुन कपडा चाहिन्छ’, खतिवडाले भने, ‘जसरी कपडा नभई खल्ती हुँदैन, त्यसै गरी हामी सरकारमा सहभागी हुन पार्टीको जरुरी पर्छ, अहिले हामी पार्टी विहीन छौँ।’ उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकता नदिएसम्म सरकारमा सहभागी हुने कुरा औपचारिक हुन नसक्ने तर्क गरेका थिए।
‘जुन दिन पार्टीले आधिकारिकता पाउँछ, त्यसपछि मात्र सरकारमा सहभागिताको कुरा आउँछ।’, खतिवडाले उकेरासँग भने, ‘निर्वाचन आयोगबाट पार्टीले आधिकारिता पाएपछि मात्र सरकारमा सहभागिताको विषयमा छलफल गर्छौँ।’
सोही पाटीका अर्का नेता मेटमणि चौधरीले भने पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउना साथ सरकारमा सहभागी हुने तयारी भएको बताएका छन्। सत्ता गठबन्धन नेताहरू बिच सरकारमा सहभागिताको विषयमा छलफल भएको र आयोगबाट मान्यता पाए लगत्तै सरकारमा सहभागिता जनाउने उनले बताएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादीले आयोगबाट मान्यता पाएपछि मात्रै मन्त्री परिषद् बिस्तार गर्ने सोचमा देखिन्छन्। स्रोतका अनुसार समाजवादीको निर्णय सँगै मन्त्री परिषद् बिस्तार हुनेछ। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि एक कार्यक्रममा समाजवादीको विषयमा निर्वाचन आयोगबाट निर्णय आएपछि मात्र मन्त्री परिषद् बिस्तार हुने बताएका थिए।
भदौ ६, २०७८ आइतबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।