काँग्रेसको क्रियाशील सदस्यता छानबिन कार्यदलको प्रतिवेदन सोमबार बुझाउने

काँग्रेसको क्रियाशील सदस्यता छानबिन कार्यदलको प्रतिवेदन सोमबार बुझाउने

काठमाडौँ  : नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलले सहमति भएको प्रतिवेदन सोमबार पार्टी सभापतिलाई बुझाउने भएको छ।

सहमति अनुसार तयार पार्नुपर्ने डकुमेन्ट आइतबार साँझसम्म तयार गरेर सोमबार पार्टी सभापति मार्फत केन्द्रीय समितिलाई बुझाउन लागेको हो। कार्यदलले सहमति गरी आइतबार नै प्रतिवेदन बुझाउने तयारी गरे पनि केही प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले सोमबार बुझाउन लागिएको कार्यदल सदस्य रमेश लेखकले जानकारी दिए।

 ‘कार्यदलले आफ्नो काम सकिसकेको भए पनि केही प्राविधिक कुरा मिलाएपछि प्रतिवेदन भोलि बुझाउने तयारी गरिएको छ।’, लेखकले भने, ‘सैद्धान्तिक सहमति भएका विषयलाई प्राविधिक रूपमा मिलाउनु पर्ने भएकाले केही समय खर्च भयो।’

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता विवाद मिलाउन गठन गरेको छानबिन समितिले बाँकी राखेको काम पूरा गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदललाई भदौ २ गते सम्म काम सक्न म्यान्डेट दिइए पनि कार्यदलले चार दिन ढिला गरी विवाद समाधानको खाका ल्याएको छ।

क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनको कार्यतालिका परिवर्तन गरेको काँग्रेसले भदौ १८ गते सबै वडा तहको अधिवेशन गर्ने निर्णय गरेको छ।    

 

भदौ ६, २०७८ आइतबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।