पत्रकारको मोटरसाइकलमा अर्कैले लागु औषध राखेको पुष्टि 

पत्रकारको मोटरसाइकलमा अर्कैले लागु औषध राखेको पुष्टि 

काठमाडौँ : पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा अरू नै व्यक्तिले प्रतिबन्धित नाइट्रोभेट टेबलेट राखेको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

गएको सोमबार रौतहटको होटेल ग्रिन सिग्नल अगाडि रोकी राखेको मोटरसाइकलमा प्रहरीले प्रतिबन्धित लागु औषध फेला पारेको थियो। मोटरसाइकल रौतहट एक्सप्रेसका सञ्चालक समेत रहेका मोजिबुल्लाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

रौतहटका प्रहरी नायव उपरीक्षक नारायण चिमौरियाले मोटरसाइकलमा प्रतिबन्धित राख्ने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। ‘सिसिटिभीको भिडियो फुटेजमा देखिएका दुई जनालाई पक्राउ गरेका छौँ,’उनले उकेरासँग भने,‘एक दुई दिनमा अनुसन्धान सक्छौँ।’ उनले अरूले नै मोटरसाइकलमा लागु औषध राखेको पुष्टि भए पनि अन्य अनुसन्धान जारी रहेको बताए। 

मोटरसाइकलमा लागु औषध फेला परेपछि मोजिबुल्लाह र उनका चालकलाई प्रहरीले सोमबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ। नेपाल पत्रकार महासंघ रौतहटले सिसिटिभी फुटेज सार्वजनिक गर्दै मुजिबुल्लाहलाई घुमुवा प्रहरीले फसाएको दाबी गरेको छ। 

साउन ३२ गते राति ८ बजेतिर होटेल ग्रिन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा लागु औषध राखिएको सिसिटिभी फुटेजमा देखिएको पत्रकार महासंघ रौतहटले जनाएको छ। 

नेपाल पत्रकार महासंघले प्रहरीप्रतिको विश्वासमा आघात पुग्ने जनाएको छ। महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा यसले कानुनी राज्यको समेत उपहास भएको  ठहर गरिएको छ। उसले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न भनेको छ। 

भदौ ६, २०७८ आइतबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।