टुङ्गियो काँग्रेसको क्रियाशील सदस्यता विवाद 

टुङ्गियो काँग्रेसको क्रियाशील सदस्यता विवाद 

काठमाडौँ : लामो समयदेखि टुङ्गिन नसकेको नेपाली काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद कार्यदलले टुङ्गो लगाएको छ।

क्रियाशील सदस्यता सम्बन्धी विवादले पुनः महाधिवेशन कार्यतालिका प्रभावित हुन सक्ने देखिएपछि आफूलाई दिइएको म्याद भन्दा ढिलो गरी कार्यदलले विवाद सुल्झाएको हो। क्रियाशील सदस्यता सम्बन्धी विवादमा कार्यदलले सहमति जुटाएका कार्यदलका सदस्य रमेश लेखकले बताए। ‘हामीले सभापतिलाई अस्ति प्रतिवेदन बुझाइ सक्यौँ’, लेखकले टेलिफोनमा भने, ‘केही मिल्न बाँकी विषयमा पनि हाम्रो बिचमा सहमति भइसक्यो।’

विभिन्न पार्टीबाट  समायोजनमा आएकाहरूसँगै विभिन्न जिल्लामा दुई गुटका कार्यकर्ताका बिच सदस्यता वितरण सम्बन्धमा विवाद थियो। काँग्रेस केन्द्रीय समितिले विवाद समाधानका लागि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल सम्मिलित कार्यदललाई भदौ ३ गते भित्र प्रतिवेदन बुझाउने म्यान्डेट दिएको हो।

कार्यदलले समय सीमा भित्र विवाद सुल्झाउन नसके पनि थप २ दिन खर्चिएर विवाद समाधान गरेको लेखकले जानकारी दिए। ‘क्रियाशील सदस्यतामा अब समस्या छैन’, लेखकले भने, ‘हामीले हाम्रो तर्फबाट गर्ने सबै काम पूरा गरिसकेका छौँ।’

पार्टीलाई जिम्मा दिने भनिएको केही जिल्ला र निर्वाचन क्षेत्रको विवादमा पनि सैद्धान्तिक सहमति जुटेको लेखकले जानकारी दिए। लेखकका अनुसार प्रारम्भिक प्रतिवेदन बुझाइ सकिएकाले पछि सहमति गरिएको बाँकी विषयको प्रतिवेदन पार्टी सभापतिलाई बुझाइने छ।

समायोजनबाट आएकाहरूको हकमा जुन पार्टीबाट आएको हो त्यो पार्टीले केन्द्रीय समितिमा बुझाएको सूची अहिले बुझाएको क्रियाशील सदस्यताको सूचीसँग भिडाएर यस अघि रहेका पार्टीको क्रियाशील सदस्य सङ्ख्याबाट नबढ्ने गरी क्रियाशील सदस्यता वितरण गर्ने सैद्धान्तिक सहमति भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

‘मैले बुझे अनुसार उहाँहरूले पार्टीको क्रियाशील सदस्यतामा मिल्न बाँकी सबै विवाद कसरी समाधान गर्ने भन्ने सैद्धान्तिक सहमति जुटाउनु भएको छ’, पौडेलले भने, ‘अब उहाँहरूको प्रतिवेदन अनुसार सचिवालयले सदस्यता वितरणको काम सुरु गर्छ।’ 

काँग्रेसले क्रियाशील सदस्यता विवाद सुल्झाउन नसक्दा भदौ १६ देखि १९ गते सम्म तोकेको महाधिवेशन स्थगित गरेर मङ्सिर ९ देखि १३ सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ।  

 

भदौ ६, २०७८ आइतबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।