मुख्यमन्त्री शाक्यसँग नेवा: प्रेस काउन्सिलको माग

मुख्यमन्त्री शाक्यसँग नेवा: प्रेस काउन्सिलको माग

काठमाडौँ : नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँग नेवा : प्रेस काउन्सिलको माग राखेको छ।

राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना दिँदै दबु येँ जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिनन्दन पत्रसँगै माग पत्र समेत राखेका थिए।

दबुले मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवा: हरुको जनसङ्ख्या धेरै रहेको र सञ्चार क्षेत्रमा पनि उत्तिकै नेवा: पत्रकारहरू सक्रिय रहेको जानकारी दिँदै नेवा: पत्रकारको विकासका लागि प्रदेशस्तरीय नेवा: प्रेस काउन्सिल गठन गर्नुपर्ने माग राखेको थियो।

काउन्सिलबाट नेवा: पत्रकारहरूको सिप विकास, तालिमका साथै नेवा: मिडियाको अनुगमन सहज हुने सुझाव दबु येँ जिल्लाले मुख्यमन्त्री शाक्यलाई दिएको छ।

दबु येँ जिल्लाले बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रूपमा मान्यता दिन समेत माग राखेको छ।
यस्तै, दबु येँ जिल्लाले नेपाल भाषा सहित अन्य आदिवासी जनजातिको भाषाबाट सञ्चालित मिडियाहरूलाई प्रदेश सरकारले अनुदान दिएर स्थानीय भाषाको माध्यमबाट हुने संचारलाई थप विस्तार गर्नुपर्ने सुझाव दिएको छ।

नेवा: सम्पदा र सभ्यताको जगेर्नाका लागि परेका नेवा पत्रकारहरूको सिप र दक्षता विकासका लागि अक्षयकोष स्थापनाका लागि पनि दबुले जोड दिएको छ। 

काठमाडौँ महानगरपालिमा नेपाल भाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेको भन्दै दबुले प्रदेशका अन्य जिल्लामा पनि त्यहाँको स्थानीय भाषामा पठनपाठन हुने वातावरण सिर्जना गर्नुपर्ने सुझाव समेत दिएको छ। यस्तै, स्वनिगमा कक्षा ९ देखि १२ सम्म नेपाल भाषा पनि पठनपाठन हुने व्यवस्था गर्न माग गरेको छ।

दबुको पत्र बुझ्दै मुख्यमन्त्री शाक्यले सञ्चार क्षेत्रको स्थान महत्त्वपूर्ण हुने भन्दै मातृभाषाको पत्रकारिता विकासका लागि पनि प्रदेश सरकारले जोड दिने बताइन्। दबुले राखेका माग र सुझावबारे अध्ययन गरेर निर्णय लिने शाक्यले बताइन्।

भदौ ५, २०७८ शनिबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।