ओली बाहेकको बृहत् कम्युनिस्ट पार्टी बन्छ : मेटमणि चौधरी 

ओली बाहेकको बृहत् कम्युनिस्ट पार्टी बन्छ : मेटमणि चौधरी 

काठमाडौँमा शनिबार भएको कार्यक्रममा चौधरीले उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने दाबी पनि गरे। 

‘अब केपी ओली र नारायणमान बिजुक्छेबाहेकको बृहत् कम्युनिस्ट पार्टी बनाउँछौँ,’ उनले भने, ‘यसमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायत सबै हुनुहुन्छ।’ उनले केपी ओलीसँगै रहँदा नेकपा (एमाले) समाप्त हुने स्थिति रहेकोले नयाँ दल दर्ता गरेको बताए। 

उनले आफूहरू एमालेको पुनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको जिकिर पनि गरे। उनले भने,‘हामीले नयाँ दल दर्ता नगरेको भए सबै भोट विसर्जन हुने थियो। कम्युनिस्ट आन्दोलन र पार्टी ध्वस्त हुने पोजिसनमा पुग्ने थियो।’

उनले चार महिनासम्म यही पार्टीको नाममा गतिविधि गर्ने र त्यसपछि केपी ओलीबाहेक सबै कम्युनिस्ट घटकहरूलाई एकताबद्ध बनाएर लैजाने दाबी गरे। उनले एमालेका दोस्रो पुस्ताका नेताहरूले एकताको लागि प्रयास गरे पनि उनीहरूको प्रयास र प्रयत्न खेर जाने बताए।

भदौ ५, २०७८ शनिबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।