पार्टी दुईटा विधान एउटै

पार्टी दुईटा विधान एउटै

राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन भएपछि नेपाल नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले तत्कालीन नेकपा एमालेको नवौँ अधिवेशनबाट पारित विधानलाई नै नयाँ पार्टीको विधान मानेर जान लागेको हो।

नवौँ महाधिवेशनले पारित गरेको विधानमा एकीकृत समाजवादी पार्टीले संघीयता अनुसार संशोधन गरेर कार्यान्वयन गर्न लागेको समाजवादीका केन्द्रीय सदस्य प्रेमलकुमार खनालले बताए।

समाजवादीको विधान एमालेको नवौँ महाधिवेशनले पारित गरेको र पार्टी एकीकरण भएर बनेको नेकपाको विधान भन्दा फरक नहुने खनालले जानकारी दिए। ‘नवौँ महाधिवेशनले पारित गरेको विधानमा प्रदेश कमिटी थिएन,’उनले भने, ‘त्यसमा संशोधन गरेर प्रदेश कमिटी गठन गर्ने भन्ने राखिएको छ।’

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र आएपछि विधान सार्वजनिक गरिने बताए।

नेकपा एमाले दुई टुक्रा हुने कानुनी प्रक्रियामा छ। निर्वाचन आयोगले आउँदो बुधबार सनाखतका लागि माधवकुमार नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)लाई बोलाएको छ।

राजनीतिक दल सम्बन्धी अध्यादेश संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलका सदस्य मध्ये २० प्रतिशतले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिए पछि नेपाल समूह नयाँ दल दर्ता गर्न गएको हो।

नेकपा एमालेको केन्द्रीय कमिटीमा २०३ जना सदस्य मध्ये हाल १८७ कायम रहेको जानकारी दिँदै खनालले नयाँ पार्टी दर्ताका लागि ५८ जनाले हस्ताक्षर गरेको दाबी गरे।

सनाखत गर्ने दिनसम्म हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या बढ्ने उनको दाबी छ। ‘बामदेव गौतमले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि समाजवादीमा आएर बाम एकतामा लाग्ने बताउनु भएको छ’ खनालले भने,‘उहाँले आफू समर्थक सदस्यहरूलाई पठाइसक्नु भएको छ।’

समाजवादीमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी ३१ सांसद रहेको खनालको दाबी छ। तत्कालीन एमालेको विधानमा उल्लेख भएजस्तै बहुपदीय प्रणालीमा पार्टी सञ्चालन हुने उनले बताए।

युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे सहित नौ जना नेताले असार २७ गते भएको १० बुँदे सम्झौता कार्यान्वयन नगरे माधव नेपालको पार्टीलाई बहुमत पुर्याउने चेतावनी दिएका छन्।

ओली र नेपाल दुवैलाई मिलाउन प्रयास गरिरहेका सुरेन्द्र पाण्डे छिटो सहमति कार्यान्वयन गरेर विवाद समाधान गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको बताउँछन्। ‘हामीले ओलीलाई सहमति कार्यान्वयन गर्न भनेका छौँ,’उनले उकेरासँग भने,‘यति दिनभित्र भन्ने छैन, छिटो गर्न भनेका छौँ।’

माधव नेपालको दलमा लागेका एमाले केन्द्रीय सदस्य मुकुन्द न्यौपानेले कथा र टुक्कामा ओली अलमलिएको बताए। ‘१४ वर्ष जेल बसेको मान्छे भन्ने भयो,’न्यौपानेले उकेरासँग भने,‘भदौ २६ गते भारतीय रअ प्रमुखलाई गोप्य रूपमा बालुवाटारमा भेटेपछि सबै विषय छर्लङ्ग भयो नि।’

‘नवौँ महाधिवेशन बाट पारित विधान भन्दा धेरै फरक केही हुँदैन,’ खनालले भने, ‘नवौँ अधिवेशनमा पारित विधान र दस्ताबेजलाई ओलीले पालना नगरेका कारण नयाँ पार्टी गठन गर्नु परेको हो।’

भदौ ५, २०७८ शनिबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।