नागरिकता विधेयक पारित गर्न गैरआवासीय नेपालीले गरे सरकारलाई आग्रह 

नागरिकता विधेयक पारित गर्न गैरआवासीय नेपालीले गरे सरकारलाई आग्रह 

संघले कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर दुई वर्षदेखि संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै संसदबाट पारित गर्न ध्यानाकर्षण गराएको जनाएको छ। 

यस पटक पनि विधेयक पास नगरी संसद् अन्त्य भएपछि थप ढिलाइ भएको सङ्घका अध्यक्ष कुमार पन्तले बताए। पन्तले नागरिकता विधेयक संसदमै अड्किदा गैरआवासीय नेपाली ऐन संशोधन समेत प्रभावित बनेको बताए। उनले नेपाल सरकारको सहभागिता सहित गैरआवासीय नेपालीले १० अर्बको लगानी भित्र्याउन सुरु गरिसकेको जानकारी दिए। 

एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले गैरआवासीय नेपालीको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखा परेका समस्याहरू छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको लगानी हुन सक्ने जानकारी दिएको संघले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

सङ्घका अनुसार मन्त्री कार्कीले नागरिकता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुङ्ग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता जनाए।  

छलफलमा महान्यायाधिवक्ता खम्म बहादुर खातीले गैरआवासीय नेपालीले नेपालका लागि गरेको योगदान सम्झेर पनि सरकारले उदारता देखाउनुपर्ने र असहमतिबीच सहमति खोज्नुपर्ने बताए। 

यस्तै कानुन न्याय तथा मानव अधिकार समितिका सदस्य लक्ष्मणलाल कर्णले विदेशमा रहेका नेपालीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे।  यस्तै राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले  विदेशमा रहेका नेपालीका विषयमा राज्यले खुला नीति अवलम्बन गर्न नसके ब्रेन ड्रेन मात्रै नभई उनीहरूको नाममा नेपालमा भएका सम्पत्ति पनि बिदेसिने खतरा बढेको बताए।  

यस्तै कांग्रेसकी पुष्पा भुसालले नेपालीलाई नेपाली भनेर चिनाउन कञ्जूस्यांई गर्न नहुने उल्लेख गरिन।

भदौ ५, २०७८ शनिबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।