नामावली सोमबार सम्म नभए काँग्रेसको वडा अधिवेशन गर्न कठिन : निर्वाचन समिति
कम्तीमा भदौ १० गते जिल्लामा क्रियाशील सदस्यको नामावली पठाइ सक्नुपर्ने भएकाले सोमबारसम्म निर्वाचन समितिलाई नामावली आइपुग्नु पर्ने यादवले बताएका हुन्। टाढाका जिल्लामा निर्वाचन सामाग्री पठाउन तीन दिन सम्म लाग्न सक्ने भएकाले समयमै सदस्यता टुङ्गो लगाई निर्वाचन समितिमा उपलब्ध गराउन उनले आग्रह गरे। ‘सके सम्म आइतबारसम्म नामावली उपलब्ध गराउन केन्द्रीय समितिलाई भनेको छु’, यादवले उकेरासँग भने, ‘भएन भने सोमबारसम्म आए पनि हामी टार्गेट मिट गर्न सक्छौँ।’
क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका बाहेक निर्वाचन समितिले गर्नुपर्ने सबै काम सम्पन्न गरेको यादवले बताए। नाम सार्वजनिक नगरे पनि कुन जिल्लामा कसलाई निर्वाचन अधिकृत बनाउने भन्ने सम्म तयारी गरिसकेको उनले जानकारी गराए।
‘विधान, नियमावली, प्रमाणपत्र लगायत सबै काम हामीले गरी सकेका छौँ’, यादवले भने, ‘अब क्रियाशील सदस्यको नामावली र निर्वाचन निर्देशिका प्राप्त भएमा हामी जिल्लामा पठाउन थाल्छौँ।’
निर्वाचनका लागि आवश्यक सामाग्री पठाउन जति ढिला सुरु हुन्छ त्यति बढी आर्थिक भार पर्ने पनि उनले बताए। आइतबारसम्म सामाग्री पठाउन थालिएन भने कतिपय जिल्लामा हेलिकोप्टरबाट पठाउनु पर्दा बढी खर्चिलो हुन सक्ने उनको तर्क छ।
काँग्रेस महाधिवेशनको सबै भन्दा महत्त्वपूर्ण पाटो मानिने क्रियाशील सदस्यता आन्तरिक विवादका कारण अझै टुङ्गो लाग्न सकेको छैन। केन्द्रीय समितिको बैठकले विवादित विषयको टुङ्गो लगाउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल सम्मिलित एक कार्यदल गठन गरेको छ।
कार्यदलले विभिन्न पार्टीबाट समायोजन भएका क्रियाशील सदस्यको अझै टुङ्गो लगाउन सकेको छैन। काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार कार्यदलले सदस्यताको अन्तिम टुङ्गो लगाएर आज पार्टी सभापतिलाई नामावली बुझाउने तयारी गरेको छ। नामावली प्राप्त भएपछि निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।
भदौ ५, २०७८ शनिबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।