आयोगले नयाँ दल दर्ताको निर्णय फास्ट ट्र्याकबाट गर्ने 

आयोगले नयाँ दल दर्ताको निर्णय फास्ट ट्र्याकबाट गर्ने 

काठमाडौँ : निर्वाचन आयोगले माधव कुमार नेपाल र महन्थ ठाकुर समूहले दल दर्ताका लागि दिएको निवेदनको प्रक्रिया सुरु भएको जनाएको छ।

नाम परिवर्तन गरेर शुक्रबार आयोगमा निवेदन दिएका नेपाल र ठाकुर समूहको दल दर्ताको प्रक्रिया सुरु भएको आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए। 

‘अब उहाँहरूले बुझाएको निवेदनमा राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार कागजपत्र पुगेको छ/छैन भनेर हेरिन्छ,’धमलाले उकेरासँग भने,‘कागजपत्र पुगेको छ भने सनाखत गराउन बोलाइन्छ।’

माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ भने महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नाम राखेर शुक्रवार आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ। 

आयोगले कागजपत्र सबै पुरा भए नभएको हेरेर आउँदो हप्ता सनाखतका लागि बोलाउन सक्ने आयोग स्रोतले बताएको छ। ‘फास्ट ट्र्याकमा काम भयो भने आउँदो हप्ता सनाखतका लागि बोलाइन्छ,’स्रोतले भन्यो,‘दुवै दलमा सांसदहरूको पनि नाम रहेकाले भेरिफाइका लागि सङ्घीय संसद् सचिवालयबाट पनि नामावली माग्छौ।’

आयोगले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी भए लगत्तै नियमावलीमा भएको पुरानो व्यवस्था संशोधन गरेको थियो।

नियमावलीमा भएको व्यवस्था अनुसार आयोगले दल दर्ताको निवेदन फेरि दिन नेपाल र ठाकुरलाई भनेको थियो।

उनीहरूले संशोधन भएको अनुसूची अनुसार आयोगमा दल दर्ताको निवेदन दिएपछि शुक्रबार नै आयुक्तहरूले छलफल गरेका स्रोतले बताएको छ। 

भदौ ४, २०७८ शुक्रबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।