महन्थको पार्टीको नाम लोकतान्त्रिक समाजवादी 

महन्थको पार्टीको नाम लोकतान्त्रिक समाजवादी 

काठमाडौँ : जनता समाजवादी पार्टीबाट फुटेर नयाँ दल दर्ताको प्रक्रियामा रहेको महन्थ ठाकुर समूहले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिएको छ।

ठाकुर समूहले पार्टीको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नाम राखेर  शुक्रवार निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको हो। यसअघि जनता समाजवादी पार्टी लोकतान्त्रिक नाम राखेर बुधवार दल दर्ताको निवेदन दिएका ठाकुर समूहलाई जसपा सँग नाम जुध्ने भन्दै संशोधन गर्न सुझाव दिएको थियो।

उक्त सुझाव अनुसार नाम संशोधन गरेर आयोगमा निवेदन दिएको पार्टीका नेता शरदसिंह भण्डारीले जानकारी दिए। ठाकुरले राजेन्द्र महतो र शरदसिंह भण्डारी वरिष्ठ नेता रहने गरी ३१ सदस्यीय कार्यकारिणी समिति रहने गरी दल दर्ताको लागि निवेदन दर्ता गरेको छ। 

यस अघि नेकपा एमालेसँग फुटेको माधव नेपाल समूहले पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने गरी आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो।

 

भदौ ४, २०७८ शुक्रबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।