पार्टीले गरेको कारबाही कार्यान्वयन नगरे सभामुखको विरोधमा उत्रने एमालेको चेतावनी
पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सूचना निकालेर पद मुक्त नगरेको भन्दै सभामुखको कार्यकक्षमा धर्ना दिएका एमाले नेताहरूले तत्काल सूचना ननिकाले संसद् चल्न नदिने सम्मको विरोध गर्ने चेतावनी दिएका छन्।
कारबाही भएका सांसदलाई तत्काल सूचना निकाले पदमुक्त गर्न माग गर्दै उनीहरूले शुक्रवार सभामुखको कार्यकक्ष अगाडि धर्ना दिएका हुन्। सभामुखले संसदीय अभ्यास र मर्यादालाई कुल्चेर राजनीतिक दलले गरेको कारबाही सदर नगरेकाले धर्ना दिनु परेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
‘उहाँ सभामुख कम पार्टी कार्यकर्ता बढी बन्नु भयो’, भट्टराईले उकेरासँग भने, ‘संसदीय प्रक्रियामा कारबाही गर्ने दल ले हो, उहाँले त सदर गर्ने मात्र हो, त्यो गर्न पनि आलटाल गरिरहनु भएको छ।’
सभामुखलाई भेटेरै कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको जानकारी दिँदै भट्टराईले पछिल्लो समय उनी सम्पर्कमै आउन नचाहेको बताए। ‘हामीले गरेको टेलिफोन पनि उठाउनु हुन्न’, भट्टराईले भने, ‘हामीले कानुन बमोजिम प्रक्रिया अघि बढाउन भनेका हौँ, यसमा अटेर गर्नुपर्ने कुनै कारण नै छैन।’
विगतमा सरिता गिरीलाई २४ घण्टामा र टोपबहादुर रायमाझीलाई ४८ घण्टामा सूचना निकालेको स्मरण गराउँदै भट्टराई ले एउटै प्रकृतिको घटनामा सभामुखले फरक व्यवहार देखाएर संसदीय अभ्यास र कानुन उलङ्घन गरेको आरोप लगाए।
यता माधव नेपालसहितका एमालेले कारबाही गरेका १४ जना सांसदले आफूहरूलाई कारबाही नगर्न माग गर्दै हुलाकबाट संसद् सचिवालयलाई पत्र पठाएका छन्। यसअघि सचिवालयमा निवेदन लिएर गएका उनीहरूलाई व्यक्तिगत पत्र दर्ता गर्न नमिल्ने भन्दै सचिवालयले फिर्ता पठाएको थियो।
भदौ ४, २०७८ शुक्रबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।