नेपाल समूहले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्ने
काठमाडौँ : निर्वाचन आयोगले नेकपा एमालेसँग नाम नजुधाउन सुझाव दिएपछि माधव नेपाल समूहले पार्टीको नाम परिवर्तन गर्ने भएको छ।
उक्त समूहले आफ्नो पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेर नयाँ पार्टी दर्ता गर्न लागेको हो। बुधवार नेकपा एमाले समाजवादी नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको नेपाल समूहलाई संशोधित नियमावली अनुसार पुनः निवेदन लिएर जानुपर्ने भएकाले नाम परिवर्तन गरेर जान लागेको केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।
चौधरीका अनुसार नयाँ नामसहितको निवेदन लिएर शुक्रवार नै निर्वाचन आयोग जाने तयारी भइरहेको छ।
त्यसै गरी महन्थ ठाकुर पक्षले पनि आफ्नो पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल गरिरहेको शरदसिंह भण्डारीले जानकारी दिए। निर्वाचन आयोगले टेलिफोनबाट नाम नजुधाउन सुझाव दिएपछि नाम परिवर्तन गर्न लागेको उनले बताए।
भण्डारीका अनुसार उनीहरू पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने की लोकतान्त्रिक जनता पार्टी राख्ने भन्ने छलफलमा छन्। पार्टीको नाममा सहमति भएपछि शुक्रवार नै आयोग गएर निवेदन दिने उनीहरूको तयारी छ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दल दर्ता हुन नसक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार नाम नजुधाउन आयोगले दुवै दललाई सुझाव दिएको थियो।
भदौ ४, २०७८ शुक्रबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।