नेपाल र ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न आयोगको सुझाव

नेपाल र ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न आयोगको सुझाव

काठमाडौँ : पार्टी फुटाएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका नेकपा एमालेका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका महन्थ ठाकुरलाई साबिकको दलसँग नाम नजुध्ने गरी नयाँ नाम चयन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ।

विगतमा नेकपा नामको विषयमा परेको रिटमा सर्वोच्च अदालतको फैसलामा पार्टीको नाममा सामान्य थपघट गर्ने र चुनाव चिन्हमा मतादाता झुक्किने किसिमले दल दर्ता नगर्ने आशय देखिएकाले आयोगले नाम परिवर्तन गर्ने सुझाव दिएको हो।

आयोग स्रोतका अनुसार नेपालले नेकपा एमालेमा समाजवादी र ठाकुरले जनता समाजवादी पछाडि लोकतान्त्रिक शब्द थपेर दल दर्ता गर्न निवेदन दिएकाले पछि समस्या पर्न सक्ने देखाउँदै नाम परिवर्तन गर्न सुझाव दिएको छ।

दुवै समूहले पार्टी दर्ताको लागि बुधवार नै आयोगमा निवेदन दिएको भए पनि संशोधित ऐन अनुसार संशोधन भएको नियमावली अनुसारको फर्मेटमा निवेदन ल्याउन भनेपछि दुवै पार्टी आज पुनः निवेदन लिएर निर्वाचन आयोग जाने तयारीमा छन्।

पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोग जाने विषयमा औपचारिक छलफल नभएको एमाले समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए। चौधरीका अनुसार सबै छलफल गरेर मात्र आयोग जाने कुरा भएको छ। समाजवादीले प्रस्ताव गरेको चुनाव चिन्ह खुला किताब  यसअघि नै आयोगले अरू नै दललाई दिइसकेकाले समाजवादीले चुनाव चिन्ह समेत नयाँ छान्नुपर्ने भएको छ।

नयाँ नियमावली अनुसार निवेदन लिएर आउँदा नाम चुनाव चिन्ह लगायतका विषयमा पछि समस्या नपर्ने गरी दल दर्ता गर्न आउनु उचित हुने आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए। 

औपचारिक रूपमा आयोगबाट नामको विषयमा पत्राचार नभए पनि सर्वोच्चको फैसलालाई आधार बनाएर नाम र चुनाव चिन्ह छनौट गर्दा राम्रो हुने उनको भनाई छ। ‘सर्वोच्चले अरू नामसँग मिल्दो जुल्दो नाम दर्ता नगर्ने आशयको फैसला गरेकाले त्यस्तो नाम लिएर आउँदा उजुर परेर बदर हुने सम्भावना रहन्छ’, अर्यालले भने।

 

भदौ ४, २०७८ शुक्रबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।